तपाईँ सुन्दै हुनुहुन्छः

हास्य कलाकार द्वय ‘मह जोडी’ ब्राण्ड एम्बेस्डरमा अनुबन्धित

मोरङ । हिमगिरी हाइजेनिक उद्योग प्राली विराटनगरले ब्राण्ड एम्बेस्डरका लागि प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई अनुबन्धित गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रबन्ध निर्देशक प्रकाश मुन्दडाले महाजोडीसँग एक वर्षको सम्झौता पत्र आदान प्रदान गर्नुभयो ।

सो अवसरमा कलाकारद्वय श्रेष्ठ र आचार्यले युवाहरूलाई स्वदेशमा रोजगारी उपलब्ध गराउन नीजि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँहरूले नेपालमा रेमिट्यान्स मात्र भित्रिएर गर्व गर्ने भन्दा पनि रेमिट्यान्सबाट आएको पैसालाई उत्पादन क्षेत्रमा लगाउन सके युवाहरूले रोजगारीका लागि विदेश जानु नपर्ने बताउनुभयो ।

उद्योगका अध्यक्ष बेनीगोपाल मुन्दडा, अध्यक्ष जाजु र प्रबन्ध निर्देशक मुन्दडाले उत्पादित सामाग्रीहरूमा गुणस्तरलाई विशेष ध्यान दिएको भन्नुहुँदै स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

उद्योगले लुगा धुने पाउडर, लुगा धुने, भाँडा माझ्ने र नुहाउने साबुन, स्याम्पु, नेपकिन, शौचालय सफा गर्ने सामाग्री, मास्क, लगायतका सामानहरू उत्पादन गर्दै आएको छ ।

उद्योगमा हालसम्म ३२ करोड बढीको लगानी रहेको र आगामी दिनमा थप एक अर्ब लगानी गरी युवाहरूलाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको उद्योगका अध्यक्ष जाजुले बताउनुभयो ।

उद्योगले आफ्ना उत्पादनहरू भारतको विहार, पश्चिम बङ्गाल, उत्तरप्रदेश, झारखण्ड र भुटानमा निर्यात गर्ने लक्ष्य लिएको पनि सो अवसरमा जानकारी गराइयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button