तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी क्षेत्रको पर्यटकीय विकासमा सहयोगी बन्दै केबलकार

रुपन्देही । भारत उत्तर प्रदेशका रवि कुमार बानिया पाल्पाको वसन्तपुरमा भेटिनुभयो । उहाँ कामाख्या मन्दिर अगाडी साथीहरूसँगै रमाएर फोटो खिच्दै हुनुहुन्थ्यो । तल बुटवलमा उखरमौलो गर्मी थियो माथि वसन्तपुरमा शीतल मौसम ।

रुपन्देहीको भैरहवा, भारतको उत्तर प्रदेशमा त झनै बढी गर्मी हुने गर्छ । जेठको अन्तिमसम्म ४० डिग्री गर्मी थियो । रवि कुमार उत्तर प्रदेशको उखरमौलो गर्मी छल्न पाल्पा आउनुभएको थियो ।

बुटवल पुग्दा रविलाई कसैले केबलकार चढेर वसन्तपुर पुगी सितलता महसुस गर्न सकिन्छ भनेर सुनाएको उल्लेख गर्नुहुँदै बुटवलबाट केबलकार चढेर आफू वसन्तपुर पुगेको बताउनुभयो ।

बानियाँले छिमेकी मुलुक नेपाल वास्तवमै प्राकृतिक सौन्दर्ययताले भरिएको भन्नुहुँदै विगतमा लुम्बिनी पुगेर पुनः भारत नै फर्किने गरेको बताउनुभयो । उहाँले हाल वसन्तपुर केबलकार चढेर प्राकृतिकको काखमा रमाउँदा आफु प्रफुल्ल भएको सुनाउनुभयो ।

त्यस्तै, भारतको गोरखपुरका सत्य केजरिवाल पहिले पनि रुपन्देही दुई पटकसम्म आउनुभएको थियो । पहिले आउँदा लुम्बिनी बाहेक कुनै महत्त्वपूर्ण गन्तव्य नभेट्नुभएका केजरिवाल तेस्रो पटक आउँदा भने रुपन्देहीमै केबलकार चढ्न पाउनुभयो । केजरीवाल भन्नुहुन्छ, “भारतमा हामीले नेपालको पहाडी क्षेत्रको बारेमा धेरै सुन्ने गरेका छौँ, तर यहाँ पुग्न बाटो अप्ठ्यारो छ, तर अहिले केबलकार बनेपछि भने हामीले केही छिनकै यात्रा गरेपछि पहाडको मज्जा लिन पाएका छौँ ।”

रवि र सत्य जस्तै लुम्बिनी केबलकार सञ्चालनमा आएपछि १४ महिनाको अवधिमा १८ हजारभन्दा बढी भारतीय पर्यटक केबलकार चढेर वसन्तपुर पुगिसकेका छन् ।

निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालको लगानीमा बुटवल हिल्स प्रालिले बि.स. २०७७ साल फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नै बुटवल पुगेर लुम्बिनी केबलकारको शिलान्यास गर्नुभएको दुई वर्षपछि यो केबलकार बि.सं २०८० सालमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएपछि सञ्चालनमा आएको थियो ।

गौतमबुद्धको जन्मस्थान समेत रहेको रुपन्देहीको लुम्बिनी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको लागि केबलकार आकर्षक गन्तव्य बनिरहेको छ । बुटवलका केबलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धन र कोरोनाको महामारीले थाल परेको पर्यटन व्यवसायको पुनरुत्थानमा थप टेवा दिएको होटल व्यवसायी समुन्द्र जिसी बताउनुहुन्छ ।

लुम्बिनी केबलकार सञ्चालनपछि यस क्षेत्रको पर्यटनको विकासको लागि धेरै नै भूमिका खेलेको उल्लेख गर्नुहुँदै व्यवसायी जिसीले भारतीय पर्यटकको सङ्ख्या वृद्धिमा केबलकार महत्त्वपूर्ण रहेको बताउनुभयो ।

पर्यटन व्यवसायी सिर्जना जोशीले लुम्बिनी भ्रमण गर्न आउने पर्यटकको लागि पनि लुम्बिनी केबलकार रोजाइ बन्ने गरेको बताउनुभयो ।

तथ्याङ्कले पनि लुम्बिनी केबलकार धेरैको रोजाइ बन्ने गरेको देखाउँछ । तथ्याङ्क हेर्दा केबलकार सञ्चालनको १४ महिनामा २ लाखभन्दा बढी पर्यटक केबलकारले भित्र्याउन सफल भएको छ ।

आर्थिक बर्ष २०७९/८० को अन्तिम दुई महिना बाँकी रहँदा सञ्चालनमा आएको केबलकारले उक्त दुई महिनामा ३० हजार ३ सय कुल पर्यटक भित्र्याएको थियो । जसमध्ये बाह्य पर्यटक २ हजार २ सय ४० जना रहेका थिए ।

यस्तै, आर्थिक बर्ष २०८०/०८१ मा १ लाख ९९ हजार ५ सय ३८ जनाले केबलकार चढेको देखिन्छ । जसमध्ये बाह्य पर्यटक (भारतीय)को सङ्ख्या १५ हजार ९ सय ९७ रहेको छ ।

लुम्बिनी केबलकारका अपरेशनल म्यानेजर डिएन कायस्थले वसन्तपुरमा विभिन्न साहसिक खेल स्काइ साइकिलिङ, स्विमिङ, जिपलाइन बनाएर पर्यटकहरूको लागि आकर्षणको केन्द्र बनाउने प्रयास भइरहेको बताउनुभयो ।

भारतीय पर्यटकको तथ्याङ्क हेर्ने हो भने कार्तिक महिनामा बाहेक अरू महिनाहरूमा ३ सयभन्दा बढी पर्यटक केबलकार चढेको देखिन्छ । कार्तिक महिनामा भारतमा दीपावली भव्य रुपमा मनाइने परम्परा भएको हुनाले पनि कम पर्यटक आएको अनुमान लाउन सकिन्छ ।

कार्तिक महिनामा ८५ पर्यटक केबलकार चढेका छन् । सबैभन्दा बढी आन्तरिक पर्यटक भने कात्तिकमै आएको देखिन्छ । नेपालको सबैभन्दा ठुलो चाडपर्व विजयादशमी र तिहार भएको हुनाले यस महिनामा मात्र ३५ हजारभन्दा बढी केबलकार चढेको देखिन्छ ।

भारतीय पर्यटक सबैभन्दा बढी यस वर्षको जेठ र असारमा आएको देखिन्छ । जेठमा ३ हजार १ सय ४० र असारमा ३ हजार ५ सय ४० केबलकारमा चढेका छन् ।

लुम्बिनी केबलकारले सञ्चालनको १४ महिनामा करिब १४ करोड व्यापार गरेको देखिन्छ । साढे तीन अर्बको लगानीमा लुम्बिनी केबलकार सञ्चालनमा आएको थियो ।

यो केबलकारको लम्बाइ २ दशमलव ६ किलोमिटर छ । उक्त दुरीको केबलकारका लागि ९ वटा टावर छन् । मोनोकेवल डिट्याचेबल सिस्टमका (डिब्बा) गोन्डुला २४ वटा छन् । प्रति गोन्डुला ८ जनाका दरले दैनिक ६ हजार यात्रु ओसारपसार गर्ने क्षमता केबलकारको रहेको छ ।

बुटवलमा अर्को केबलकार पनि सञ्चालनको लागि अन्तिम चरणमा छ । बुटवलबाट ऐतिहासिक थलो पाल्पाको नुवाकोटगढी जोड्ने सिद्धार्थ केबलकारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । केही समयमै सञ्चालनमा ल्याउनको लागि तीव्र रुपमा तयारी गरिरहेको जानकारी सिद्धार्थ केबलकारका सञ्चालक माधव नेपाल बताउनुहुन्छ ।

कर्णेल उजिर सिंह र नेपाली सैनिकले अङ्ग्रेज नेपाल युद्धमा बुटवलको सुरक्षा गर्न खटिएको गढीको रुपमा परिचित नुवाकोटगढी केबलकार नबन्दै पनि धेरैको रोजाइमा पर्ने गरेको छ । केबलकार सञ्चालनमा आएपछि नुवाकोटगढी अधिकांश पर्यटकको रोजाइ बन्ने देखिन्छ ।

रुपन्देहीको बुटवलमा रहेका यी केबलकारहरू लुम्बिनी र बेलहिया हुँदै नेपाल प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि एउटा महत्त्वपूर्ण गन्तव्य बन्ने सम्भावना छ । जिल्लाको पर्यटनको विकासको लागि केबलकार सहयोगी बन्ने निश्चित छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button