तपाईँ सुन्दै हुनुहुन्छः

२१ बर्ष पछि स्थापना भयो इलाका प्रशासन कार्यालय

बाँके  । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय २१ वर्ष पछि पुनःस्थापना भएको छ ।

आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका ऊर्जा जल स्रोत तथा सिचाई मन्त्री कृष्ण केसीले इलाका प्रशासनको स्थापनासँगै अब स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज जानु पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले गृह मन्त्रालय सँगको लामो प्रयास दरबन्दी स्वीकृत भए पछि इलाका कार्यालय स्थापना भएको बताउनु भएको हो । इलाका प्रशासन कार्यालय नरैनापुर बिगत २१ बर्ष देखि नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको थियो ।

नागरिकता, प्रशासनिकलगायत सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज जाने गरेका थिए । गाउँपालिकाले कृषि शाखाको भवन दिए पछि इलाका प्रशासन कार्यालय स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीले इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न विगतमा नरैनापुरवासीले पाँच हजार हस्ताक्षर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको स्मरण गर्दै उहाँले लामो समय पछि नरैनापुरमा स्थापना भएको इलाका प्रशासनले जनतालाई ठुलो राहत पुग्ने जिकिर गर्नु भयो । 

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रहरी उपरीक्षक तुल बहादुर कार्की, अनुसन्धानका उपनिर्देशक ओम खड्का, बहिनी पति रबिन श्रेष्ठ लगायतको सहभागिता थियो । 

प्रशासकीय अधिकृत माधव सिहको नेतृत्वमा ३ जना नासु र १ जना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीलाई पठाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button