तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय समितिद्वारा महासमिति बैठकका प्रस्ताव पारित

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमितिको बैठकका विभिन्न प्रस्ताव पारित गरेको छ ।

गत साउन २३ देखि सुरु भई सम्पन्न केन्द्रीय समिति बैठकले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत ‘नीति–प्रस्ताव’, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत ‘साङ्गठनिक प्रस्ताव’ र महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘समसामयिक राजनैतिक प्रस्ताव’ उपर महासमितिको बैठकमा बृहत् छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी प्रस्तुत परिमार्जित सर्वसम्मत पारित गरेको हो ।

यसैगरी, बैठकले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच गत असार १७ गते भएको सातबुँदे सत्ता गठबन्धनको सहमतिपश्चात् ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ भन्नेलगायत विषयलाई लिएर गरिएका टीका–टिप्पणी र सिर्जना गरिएका भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सातबुँदे सहमति राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुदृढ गर्नेगरी संविधान संशोधन गर्ने उद्देश्य प्राप्तिका लागि हो भन्नेमा कांग्रेसले प्रस्ट रहेको बैठकले ठहर गरेको छ ।

उक्त सहमतिलाई कार्यान्वयन गर्न बैठकले पुनः दृढता व्यक्त गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले आफ्नै नेतृत्वमा बनेको सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व र यसको रक्षा एवं कार्यान्वयनको मूल दायित्व कांग्रेसको नै हो भन्ने कुरालाई हृदयङ्गम गर्दै संविधान संशोधन गर्दा यसको कार्यान्वयनमा देखिएका चुनौती र जटिलताको समीक्षा गरिने उल्लेख गरेको छ । साथै सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र वास्तविक रुपमा संविधानको मर्मबमोजिम सबै जाति, भाषा, लिङ्ग, धर्म, क्षेत्र, समुदाय, वर्गको समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्नेगरी कांग्रेसले सघन छलफल गर्नेछ र त्यसको पहलकदमी कांग्रेसले लिने बैठकको निर्णय छ ।

सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्माण र परिमार्जन गर्न बाँकी रहेका कानुनहरूको प्रक्रिया अविलम्ब प्रारम्भ गर्न कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण र प्रतिबद्धता दोहो¥याउँदै त्यसमा अग्रसरता लिने निर्णय गरेको छ । बैठकले यस सन्दर्भमा कुनै पनि भ्रममा नपर्न र राजनीतिक सङ्कट सिर्जना गरेर मुलुकलाई पछाडि धकेल्न उद्यत संविधान विरोधी प्रवृत्तिबाट हमेसा सचेत रहन आम नेपाली जनता, सम्पूर्ण सरोकार राख्ने समूह, समुदाय र राजनीतिक दलहरूलाई विशेष आग्रह गरेको छ ।

यसैगरी, बैठकले महासमिति बैठकमा विधानसँग सम्बन्धित विषयमा प्राप्त सुझाव तथा पार्टीको तहगत सङ्गठनात्मक संरचनालाई कार्यमूलक बनाउनेलगायत विधानसँग जोडिएका विभिन्न विषयमा सघन छलफल एवं सुझाव सङ्कलन गरी विधानमा समयानुकूल संशोधन र परिमार्जनका लागि मस्यौदा तयार गर्न ‘विधान संशोधन मस्यौदा समिति’ गठन गर्ने निर्णय गरेको छ । समितिका संयोजक र सदस्य आवश्यक परामर्श गरी चयन गर्न पार्टी सभापतिलाई अधिकार प्रदान गरिएको छ ।

कांग्रेसले एक सयदिने विशेष साङ्गठनिक अभियान सञ्चालन गर्ने

बैठकले पार्टीको सबै तहका साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन, विधानबमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माणलगायत कार्य समयमै गर्न÷गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउनलगायत साङ्गठनिक कार्यमा केन्द्रित भई पार्टीले आगामी असोज १ देखि पुस १० गतेसम्म एक सयदिने विशेष साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

कांग्रेसले बढ्दो हवाई तथा सडक दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी प्राविधिक, प्रशासनिक एवं व्यावहारिक सुधारका लागि आवश्यक कानुनी बन्दोबस्त गर्न सरकारलाई आग्रह गरेको छ । सार्वजनिक सेवाको क्षेत्रमा हुने ढिलासुस्ती, बेथिति र विकृतिको अन्त्य गर्दै सेवाग्राहीमा सकारात्मक अनुभूति हुन सक्नेगरी सर्वसुलभ सेवा प्रदान गर्ने बैठकको निर्णय छ । कांग्रेसले आम दुग्ध किसानलाई बाँकी रकम अविलम्ब भुक्तानी दिन सरकारसँग माग गरेको छ ।

त्यस्तै, कांग्रेसले सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्न, स्वास्थ्य बीमालाई एकद्वार प्रणाली लागू गरी बीमाको रकम बढाई रु पाँच लाख कायम गर्न सरकारसँग माग गरेको छ । आजको बैठकले चाडबाडका लागि अत्यावश्यक वस्तुका रूपमा रहेको चामल, दाल, चिनीलगायत दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सृजना हुनसक्ने अवस्थालाई मध्यनजर बजार नियमनको प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आवश्यक कानुन यथाशीघ्र अघि बनाउनुपर्ने कांग्रेसको माग

बैठकले अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्न अघिल्लो आयोगले गर्दै आएको कार्यलाई निरन्तरता दिनेगरी कानुनीलगायत आवश्यक अन्य प्रभावकारी कार्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै, जनभावनाअनुसार सङ्घीयतालाई सुदृढ र प्रभावकारी बनाउँदै जनताका अधिकारसँग सम्बन्धित प्रक्रियामा रहेका विधेयक तथा मौलिक हकसँग सम्बन्धित बन्नुपर्ने आवश्यक कानुनहरु अविलम्ब अघि बढाउनुपर्ने कांग्रेसको निर्णय छ ।

कांग्रेसले सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताको बचत सुरक्षित गर्दै बचतकर्तालाई न्याय दिलाउन कुनै विलम्ब नगरी प्रक्रियामा रहेका सबै मुद्दा चाँडै टुङ्गो लगाउन र दोषी देखिएकलाई यथाशीघ्र कानुनी दायरामा ल्याई समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेको छ । सुविधा सम्पन्न रङ्गशाला निर्माण, विस्तार तथा उचित सेवासुविधा दिई खेलाडीहरूलाई आकर्षित र प्रोत्साहित गरी खेलकुद क्षेत्रको विकासमा सरकारले अविलम्ब उपयुक्त कदम चालोस् भन्ने बैठकको माग छ ।

यस वर्ष प्रकाशित एसइई र कक्षा १२ को परीक्षाफलमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएको परिस्थितिलाई गम्भीर चिन्ताका रूपमा लिँदै कांग्रेसले विद्यालय शिक्षा पूर्ण रुपमा निःशुल्क बनाउने र वर्तमान शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैगरी, यस वर्ष अति भारी वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्बाट पीडित र प्रभावित नागरिकको जीवन सहज बनाउनका लागि उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्थासहित उपयुक्त कदम चाल्नका लागि कांग्रेसले सरकारसँग माग गरेको छ । हरेक वर्ष नेपाली किसानले भोग्नुपरेको मलको अभाव अन्त्य गर्न दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न बैठकको माग छ । नेपालको इतिहासमा पारा ओलम्पिक खेलमा पहिलोपटक पदक विजेता पलेसा गोवद्र्धनले राष्ट्रको गौरव र शान बढाउनु भएकाले बैठक उहाँलाई विशेष बधाईज्ञापन गर्दै उच्च सम्मान गर्ने निर्णय गरेको छ ।

आजको बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’ र बद्रीप्रसाद पाण्डेले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button