तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ५७ दुर्घटना: ४५ को मृत्यु ४ सय २० घाइते 

उदयपुर । उदयपुरमा सवारी दुर्घटनामा परि एक वर्षमा ४५ जनाको मृत्यु भएको छ भने ४ सय २० जना घाइते भएका छन् । 

एक वर्षमा उदयपुरमा १ सय ९७ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लामा भएका १ सय ९७ वटा दुर्घटनामा ४५ को मृत्यु र ४२० जना घाइते भएका हुन । तथ्याङ्क अनुसार जिल्लाको महत्वपूर्ण राजमार्ग मानिएको मदन भण्डारी राजमार्गमा अत्यधिक दुर्घटना हुने गरेको छ । 

१ सय ५७ दुर्घटना मध्ये १ सय ५० वटा दुर्घटना मदन भण्डारी राजमार्गमा भएका छन् । दुर्घटनामा परि घाइते ४ सय २० मध्ये ३ सय २९ जना मदन भण्डारी राजमार्गमा घाइते भएका छन् । भने ४५ मध्ये २९ जनाको मृत्यु सोही मदन भण्डारी राजमार्गमा भएको छ ।  

यसरी जिल्लाको सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा जम्मा दुर्घटनाको ७७ प्रतिशत दुर्घटना मदन भण्डारी राजमार्गमा मात्रै हुने गरेको देखिएको छ । उदयपुरमा हरेक महिना ४ जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ ३५ जना घाइते हुने गरेको ट्राफिक प्रहरी कार्यालय उदयपुरले बताएको छ । 

तीव्र गतिमा सवारी चलाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा अधिकांश दुर्घटना भएको तथ्याङ्क छ ।

उदयपुरको महत्वपूर्ण राजमार्ग मानिएको मदन भण्डारी राजमार्गमा अत्यधिक दुर्घटना हुनुमा सडकको डिजाइन गलत रहेको स्थानीय जानकारहरूको भनाइ छ । उनीहरूले मदन भण्डारी सडकलाई यथास्थितिमा राष्ट्रिय राजमार्गका रुपमा लैजान नहुने बताएका छन् । 

मदन भण्डारी राजमार्ग भएर पछिल्लो समय दैनिक करिब एक सय भाडाका सवारी आवतजावत हुने गरेका छन् भने प्राइभेट सवारी झण्डै त्यसको दोब्बरमा आवतजावत गर्छन् तर सडक भने अत्यधिक घुमाउरो रहेका कारण पनि मदन भण्डारी राजमार्गमा अत्यधिक सवारी दुर्घटना भएको हो । 

राज्यले बेलैमा सवारी आवागमनमा उच्च ट्राफिक सतर्कता नअपनाउने हो भने मदनभण्डारी राजमार्ग मृत्युको राजमार्ग बन्नसक्नेप्रति स्थानीयको चिन्ता रहेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button