तपाईँ सुन्दै हुनुहुन्छः

भगवान् खोज्दै बडिमालीका पुग्दा (यात्रा स्मरण) 

बझाङ । विदेश जानेहरूको भिसा लागे जस्तै यसपाली मेरो बडिमालीकाका यात्राको पनि भिसा लाग्यो । बडिमालीका यात्रा गर्न पाए हुन्थ्यो भन्ने मेरो चार पाँच वर्ष अगाडीको सपना थियो । यसपाली बझाङका प्रमुख जिल्ला अधिकारी बिश्वामित्र कुइकेलको टोलीसँग यहाँ जाने अवसर जुरेको थियो । मेरो लागी बडिमालिकाको यो यात्रा पहिलो थियो । यस्तो लामा यात्रा गर्ने अवसर, समय परिस्थिति सबैले साथ दिँदा मात्र सम्भव हुँदो रहेछ । त्यसैले यो यात्रा मेरो लागि निकै सहज र वजनदार रह्यो ।

सुदुरपश्चिमको प्रसिद्ध प्राकृतिक धार्मिक शक्तिपिठ हो बडिमालीका । बडिमालीका पर्वको अवधि साउन ३० गते बाट भाद्र ३ गतेसम्म थियो । श्रावण शुक्ल चतुर्दशीमादेखि जनै पूर्णिमासम्म मालीका दर्शन गरि सक्नु पर्ने रहेछ । हाम्रो टोली साउन ३० गते बझाङ सदरमुकामबाट राजमार्गको गाडी यात्रा गरि राती अबेर बाजुरा मार्तडी पुगी बास बस्यो । सिडिओ अफिसको गाडी र साथमा सिडिओ साप , डिभिजन बन कार्यालय हाकिम , सशस्त्र प्रहरी प्रमुख उहाँका सहयोगीहरू र सवारी चालकसहित हामी ८ जनाको टोली थियौँ ।

साउन ३१ गते हाम्रो टोली बाजुरा मार्तडी सदरमुकाम बाट बडिमालीका यात्राको लागी उकालो चढ्यौँ । बाजुरा सिडिओ कार्यालय नजिकै रहेको बडिमालीका नगरपालिकाको अफिसियल पूजा सामाग्री बोकेर हिँडेको पेटारो टोली पनि बाजा गाजासहित हिडिरहेको थियो । यात्रामा हिँडेकी पूर्वपत्रकार अहिले नगरपालिकाकी उप मेयर नन्दा थापा बहिनीसँग पनि भेटघाट र भलाकुसारी भयो । बाजुराको मार्तडी माथिको मन्दिरमा सुरक्षा निकायबाट सलामी साथ पूजा गरि सरकारी टोली पूजा सामाग्री लिएर बडिमालीका जाने प्रचलन रहेछ । यसपाली बाजुराका सहायक प्रजिअ रूपक मण्डेलको टोली माथी जाँदै थियो ।

मन्दिरमा महिलाहरूले मागल फाक गाएको सुनियो । स्थानीय मौलिक पहिरनमा सजिएका यहाँका महिला र उनीहरूले जमरा बोकेका र लगाएका थिए । सरकारी टोली र पेटारोलाई स्वागत गरि बिदाइ गर्ने मन्दिरको यो क्षण पनि यो पर्वको सुन्दर पक्ष रहेछ ।

यो पूजा सामाग्री बोकेको टोलीसँग हामी पनि सँगसँगै थियो । जुम्ला ,कालीकोट, डोटीबाट पनि यस्ता सरकारी टोली आउने रहेछन् । हुम्ला,जुम्ला कालीकोटका मान्छेहरू आउने माथिल्लै बाटो भएपनि अन्य नेपालका अधिकांश मानिसहरू मार्तडीको बाटो भएर नै जाने रहेछन् । बडिमालीका यात्रा गर्नेहरूका लागी मार्तडीको बाटो हिँडेर त्रिवेणी स्नान गरी बडिमालीका दर्शन गरेर नाटेश्वरी मन्दिर भएर झर्नु नै उपयुक्त गन्तव्य रहेछ । बडिमालीका जाँदा मार्तडी माथी उकालो बाटोमा बालबालिकाहरूले काेशेलीहरु थापेका थिए । बीच बाटोमा राखिएका यी कोसेलीहरूमा सानो पुजा थाली, भगवानका फोटा , धूप बत्ती सल्काएको टिका राखिएको थियो ।

सबै कोसेलीहरुबाट भक्तजनहरुले आफैले टिका लगाएर वा टिका लगाइ मागेर सानो दक्षिणा पैसा दिनु यो पर्वको मौलिक विशेषता रहेछ । मार्तडीतर्फ उकालो हिड्दै गर्दा बीच वाटोमा कोसेली राखेर दक्षिणा माग्ने बालबालिकाहरु देखिए भने मालीका दर्शन गरी नाटेश्वरी भएर झर्दा खेरी पनि बाटोमा यस्तै टिका थाल समातेर टिका लगाउने दक्षिणा माग्ने बालबालिकाहरु थुर्पै थिए । बडिमालीकाको यो पर्वमा बालबालिकाहरुले कोसेली थाप्ने संकृती पनि मेलाको सुन्दर पक्ष लाग्यो मलाई । यो प्रचलन कायम राख्नुपर्ने देखीन्छ । तर भक्तजनहरुले पाँच-पाँच दश-दशका खुद्रा पैसा बोकेर जानु पर्दो रहेछ । त्यो मलाइ पनि महसुुस भयो । कोसेली थापेका हुन वा टिका थाल समातेर बसेका मार्तडी र नाटेश्वरीतर्फका दुवै वाटोमा स्वागतका लागी बसेका केही बालबालीकाहरु मेरो दक्षिणाबाट छुटे । म सँग छुुट्टा पैसा नभएको कारण सबै बालबालीकालाई मेले दक्षिणा दिन सकिन । यसमा मलाई पश्चाताप लाग्यो ।

विहान मार्तडीबाट चिया नखाएर हिडेपनि बाटोमा त्यति समस्या खानको लागि भने कहीँ कतै भएन । एक दुई घण्टाको वीचमा बाटो भरी त्रिपाल टाँगेका होटल पसलहरु थुर्पै थिए । यो पर्वको लागि मात्र अस्थायी रुपमा राखिएका पसलहरुमा चिया , गँहुका रोटी, आलु चनामटरको सुप, खीर , मकै, स्याउ , विस्केट दही दुध , चाउचाउ लगाएतका थुपै खानेकुरा र परिकारहरु प्रशस्तै थिए बाटोमा । टाढाको बाटोमा राखिएका यी पसलहरु स्वभाविक रुपमा केहि महंगो भएपनि यात्रामा निस्कनेहरुका लागि यो मूल्य खासै गुनासै गर्नु पर्ने खालकाे भने थिएन । त्यसमाथि जाँदा खेरी बाटोमा होस् वा त्रिबेणी , मालीका मन्दिर र फर्केने बाटोहरुमा जता ततै अर्गानिक स्थानिय उत्पादन खान पाउनुु यस यात्राको अर्को विषेशता लाग्यो मलाई ।

विहान ७ बजे बाजुरा सदरमुकाम मार्तडीबाट उकालो हिँडेका हामी बेलुका ४ बजे उकालो काटेर समथल भागमा पुग्यो । त्यो ठाँउ फुलचढाउने धर्मशाला रहेछ । नौ दश घण्टाको निरन्तर उकालो पछि फेरी एक डेड घण्टा समथल रोड काटेको बाटो हिडेपछि सोता पाटन भन्ने ठाउँमा पुगियो । त्यहाँ नै सबैको बास बस्ने ठाँउ हो । हामी पनि त्यहि बास बस्यौं । एक दिनको यो यात्राको बीच बाटोमा यस्तो मनमोहक दृष्य ठाँउ खासै केहि छैन । तर यहाँ बाट मार्तडी सदरमुकाम क्षेत्र लगायत अन्य जिल्लाका ठाँउहरुको सुुन्दर दृष्य अवलोकन गर्न सकिने रहेछ । बाटोमा केही आराम गर्ने टिनका टहरा बनाएका रहेछन् । बाटो केही सुधार गरेका, सिँडिहरु मिलाएका थिए जस कारण ठाडै उकालो भएपनि बाटो आरामदायी नै रहेछ ।

  बडिमालीका यात्राको लागी मार्तडीबाट एक दिनको पैदल बाटो माथी सोता पाटनसम्म सडक बाटो खोल्ने काम पूर्ण रुपमा सकिएको रहेछ । अहिले बर्खा भएर सडक बिग्रेको हुँदा गाडी जान नसकिए पनि हिउँदमा बाटो सफा गरेर यहाँसम्म गाडीमा पुग्ने गरेको सुनियो । बाटोमा हिँड्दा कतै सडक बाटो पनि पर्ने हुँदा बाटो फराकिलो राम्रो बनाएको देखिन्छ । ट्रयाक खुली सकेको यो बाटोलाई आउँदा वर्षहरुमा सफा गरी गाडीहरू सोता पाटनसम्म जाने वातावरण बाजुराका सरोकारवालाहरुले बनाउनु पर्ने देखिन्छ । सोता पाटनसम्म गाडी पुर्‍याउन सके मार्तडी देखि सोता पाटनसम्मको एक दिनको उकालो पैदल यात्रा छोटिन्छ । अनि हामी एक दिनमा त्रिबिणीधाम पुगेर अर्को दिनमा बडिमालीका दर्शन गरी बिच बाटोमा फर्किन सकिन्छ ।

मार्तडी बाट हिँडेको टोलीहरू कोही वारी त कोही पारी सोता पाटन भन्ने ठाउँमा बसे । सबैले टेन्ट लिएको हुँदा सबै टेन्टमा नै थिए । तर यहाँ गोठहरू पनि थिए । आधा घण्टा माथी घोडे पाटनमा पनि टोलीहरू बसेका थिए । केही घण्टाको उकालो ओरालो पछि खोला तरेर उकालो बाटो हुँदै दौडने पाटन पुगिन्छ । त्यहाँ पहिलो पटक बडिमालीका दर्शन गर्न गएका मान्छेहरूले दौडने प्रचलन रहेछ । बीच बाटोमा मन्दिर छन् । पहाडका चुली चुलीको यात्रा निकै मनमोहक हुँदो रहेछ । ठुला ठुला हरिया घाँसे मैदानका भित्ताहरूमा चरी रहेका सेता भेडाका बथानहरूले पाटनको सुन्दरता थपिदिएको थियो । जङ्गली रङ्गीबिरङ्गी फुलहरूले त मनलाई लोभ्याइनै रहँदो रहेछ । पाटनका टुप्पाहरूबाट हेर्दा तल होचा पहाडका डाँडाकाँडा मिलेर बसेका बस्तीहरू देखिन्थे । आँखाले सिधा हेर्दा अपि र साइपाल हिमालको रेन्ज देखिन्थ्यो । मालीका बाट हेर्दा भारतको बद्री–केदार नाथ धाम र कैलाश मानसरोवरको रेन्ज पनि देखिने अनुमान गरिँदै थियो ।

बाटै पिच्छे मन्दिरहरू थिए । मन्दिरमा धूप बाल्ने, सेतो रातो तुलहरू चढाउने , बडिमालीकाको जयजयकार गर्ने टोलीहरू पनि थुर्पै थिए बाटोमा । एक जनाले जय माता बडीमालीका भने पछि अरू सबै एकै स्वरमा जय बडीमालिका भनेर कराउँथे । यस्तो जयजयकार गर्दै जाँदा थकान मेटिएको महसुस हुन्थ्यो ।

सानो उफरबाट गीत बजाएर हिँड्ने टोली पनि निकै थिए । राष्ट्रिय झण्डा बोकेका युवाहरूको टोलीको पनि आफ्नै उत्साह र उमङ्ग थियो । यात्रामा कोही थकाइ मार्दै बसेका हुन्थे । कोही थकाइ मारी हिँडेका हुन्थे । भक्तजनहरूको लावालस्कर थियो । नेपालको पूर्वको इलामदेखि पश्चिमको दार्चुलासम्मका यात्रु बाटोमा भेटिदा यो यात्राको वर्णन गर्न सकिँदो रहनेछ ।
बाटोमा भक्तजनहरूका भारी बोकेर हिँड्ने स्थानीय साना बालबालिका देखि युवाहरूसम्म थिए । भक्तजनहरूका भारी बोकेर पनि यो सिजनमा बाजुरा तर्फका स्थानीयहरूलाई राम्रै कमाइ हुँदो रहेछ । सबैको गन्तव्य एउटै थियो तर हिँडाइ मात्र फरक थियो हाम्रो । कोही अलि जोरले हिँड्थे त, कोही बिस्तारै । ४२ सय मिटरको उचाइमा मालिका भएकाले यस क्षेत्रको बाटोमा केही सास कम हुने, छाती दुख्ने जस्ता सामान्य समस्या आउने गर्दा रहेछन् । तर सबै माता मालिका प्रति समर्पित थिए । सबैलाई हिँडाइमा शक्ति मिलेको आभास हुन्थ्यो ।

दोस्रो दिनको हिँडाइमा प्राय सबै थाकी सकेका थियौँ । साँझतिर बुडीमाइको थान पाटन भएको ठाउँमा पुगियो । खास यहाँबाट त्रिबिणीका पाटनहरू सुरु हुँदा रहेछन् । यहाँ घोडा दौडाउने अवसर पनि मिल्दो रहेछ । केही भक्तजनहरूले घोडा चढेर तस्बिर र भिडियो कैद गदै रमाइलो गरे । यो ठाउँमा कालीकोटेहरु बस्दा रहेछन् उनीहरूकै होटल पसलहरू थिए यहाँ । यहाँ हातले बुनेका ऊनका राडीपाखीहरु भक्तजनहरू लाई बस्नलाई ओछ्याएका थिए । कमलका फुल, भुतकेष जडीबुटी लगायतका औषधी यहाँ विक्रीमा राखिएका थिए । बाटोमा साहुजीहरूले आउनु होस्, खानु होस्, बस्नु होस् भन्थे । अनि केही आफूले बोकेको र केही होटलको खानेकुरा खाएर आनन्द लिइन्थ्यो । दोस्रो दिनको बास हाम्रो त्रिबिणी नै हुने भएकाले हामी यी पाटनमा बिस्तारै हिँडी रहेका थियौँ ।

त्रिबिणीधाम नपुग्दै अलिमाथि निर साना साना ढुङ्गाको बाटोमा घर बनाउने प्रचलन रहेछ । वरपर हरियो दलदल पाटन क्षेत्र तर त्यहाँ ढुङ्गा भएको खाली ठाउँ अलि चाख लाग्दो आचार्य लाग्दो थियो । अलि दैविक शक्ति जस्तो पनि । हामीले पनि ढुङ्गा थपेर घर जस्तो बनायौँ, बर माग्यो । यहाँ घर बनाए मनले सोचेको पुरा हुने जनविश्वास रहेछ । राती त्रिबिणी धाममा नै बास भयो । खप्तड जस्तै दुई खोलाको बीचमा रहेछ त्रिबिणी । पारी पट्टी कालिकोट वारी पट्टी बाजुरा क्षेत्र हुनु पर्छ । तर यहाँ खोला वारी पारीका मन्दिरमा प्रदेश ६ नै लेखिएका थिए । त्रिबिणीमा कुण्ड बनाएको थियो । खोलाको पानी जम्मा गरेर पोखरी जस्तो । भक्तजनहरूलाई नुहाउन स्नान गर्न सजिलो थियो । यहाँ केही मन्दिर , धर्मशाला र शौचालयहरू निर्माण र निर्माणाधीन थिए । जे भएपनि यति टाढाको ठाउँमा केही संरचना बन्दै र बनिरहेका हुँदा सरकारी तह बाट यसको व्यवस्थापन भई रहेको छ भन्ने सङ्केत देखिन्थ्यो ।

अघिल्लो दिनमै राती मेरो चिसोको कारण अलिअलि टाउको दुखेको थियो । राती त्रिबेणीमा त बेस्सरी टाउको दुख्यो । त्यहाँ लगाइएका टेन्ट र त्रिपालले गाँउ जस्तै भएको थियो पाटन क्षेत्र । मान्छेको बाक्लो चाप थियो । केही टोलीहरुले त राती डेउडा खेल लगाएर जाग्राम गरि रहेका थिए । टाउको दुखेर म टेन्ट भित्र पल्टी रहेको थिए तर एक जना मदिरा सेवन गरेको कालीकोटे हुँ भन्ने मान्छेले बाहिर सार्वजनिक गाली गरेको सुने । मलाइ लाग्यो यहाँ पनिको जडिया आएको रहेछ । जेनतेन रात काटेपछि विहान हामी सबै उठियो ।

अघिल्लो दिनमै राती मेरो चिसोको कारण अलिअलि टाउको दुखेको थियो । राती त्रिबेणीमा त बेस्सरी टाउको दुख्यो । त्यहाँ लगाइएका टेन्ट र त्रिपालले गाँउ जस्तै भएको थियो पाटन क्षेत्र । मान्छेको बाक्लो चाप थियो । केही टोलीहरुले त राती डेउडा खेल लगाएर जाग्राम गरि रहेका थिए । टाउको दुखेर म टेन्ट भित्र पल्टी रहेको थिए तर एक जना मदिरा सेवन गरेको कालीकोटे हुँ भन्ने मान्छेले बाहिर सार्वजनिक गाली गरेको सुने । मलाइ लाग्यो यहाँ पनिको जडिया आएको रहेछ । जेनतेन रात काटेपछि विहान हामी सबै उठियो ।

त्रिवेणीको पोखरी कुण्ड र खोलाका छेउछाउमा स्नान गर्नेको घुइँचो थियो । बिहान सुरुमा जलारी भन्ने भाँडोबाट पानी हाली स्‍नान गर्ने प्रचलन रहेछ । त्यो जलारी भाँडा बाजुरा र कालीकोटेहरुले तानातान गर्दा अगाडीका वर्षहरुमा झगडा लफडा हुने रहेछ भन्ने कुरा बिहान सुनियो । यसपाली पनि जलारी भाँडाको तानातान भयो । हामीले जित्यौँ भनेर एक जना कालिकोटे युवाले बाटोमा हामीलाई सुनायो । तर मैले जलारी भने देखेको छैन । अहिले जलारीले स्‍नान गर्ने प्रचलन झगडा हुन्छ भनेर हटाएको रहेछ । यो जलारी प्रचलनलाई पनि यहाँ बढवा गर्नु पर्ने मेरो विचारमा लाग्यो । काठका कचौरा जस्ता जलारीहरू धेरै बनाएर त्यो भाँडाले स्नान गर्ने प्रचलन बनाएमा यसको महत्व अझै बढ्ने देखिन्छ । जलारी विक्रीमा राख्न सके आर्थिक रुपमा पनि फाइदा हुने साथै जलारीको धार्मिक रुपमा पनि महत्व बढ्ने देखिन्छ ।

हाम्रो टोलीका वनका हाकिम सर लगायत केहीले त्रिबीणीमा बिहान स्‍नान गर्नुभयो । केहीलेचाँहि टाउकोमा जल मात्र हाल्यौँ र धुपबत्ती गर्‍यौँ । त्रिबीणीबाट बिहान हाम्रो टोली पनि बडिमालीका दर्शनका लागि हिँड्यो । त्रिबीणीबाट अलि उकालो डाँडा पाटनहरुमा चढ्दै गएपछि त्रिवेणी क्षेत्रको सबै पाटन हेर्न सकिँदो रहेछ । यहाँ खप्तड भन्दा ठुला ठुला पाटन र फराकिलो क्षेत्र बढी रहेछ । स्थानीयका अनुसार यहाँ १२ पाटन छन् रे । यात्राको तेस्रो दिन त्रिबीणीबाट मालीका डाँडामा जाँदा यो क्षेत्र अझै भौगोलिक रुपमा सुन्दर रहेछ । यो बाटोमा यात्रा गर्दा पाटनको मनमोहक दृश्य र कुनै स्थानमा निकै डर लाग्दा ठाँउहरु थिए । अग्ला चुली चुलीमा हिँड्नु पर्ने भएकाले धेरै डाँडाहरू र जमिनको भू-भागसहित कुहिरोसमेत तल देखिन्थ्यो । बाटो तल हेर्दा निछाड भीर र डरलाग्दा खोल्साहरू थिए । बाटोमै कतै अफ्ठेरो ठाउँमा फलामको बार हालेर सहज बनाइएको रहेछ । बडिमालीका टापुमा पुग्ने पुग्ने यो बाटोमा छिनछिनमा कुहिरो ढाक्ने र छिनभर कुहिरो हटेर वरपर देखिन्थ्यो । कतिपय भक्तजनहरू यसो हुनुमा मालीका देवीले वरपर हेर्दा मान्छेहरू डर मान्छन् भनेर भगवानले कुहिरो लगाउने गरेको बताउँथे । वरपर हेर्दा निछाड भीर देखिने डर लाग्ने भएकाले कुहिरो लाग्दा कतै नदेखिने आफ्नो बाटो मात्र देखिने हुँदा हिँड्न सजिलो हुने भक्तजनहरूको अनुभव थियो ।

त्रिबीणीबाट बिहान हिँडेका हामी मालीका डाँडा मन्दिर भएको ठाउँमा दिउसो २ बजे तिर पुयौं । मन्दिरको अलि तल पट्टी बासुधारा रहेछ । यहाँको पानी टाउकोमा हाल्दा पुण्य हुन्छ भन्ने मान्यता रहेछ । भीरमा साँगुरो बाटो भएकाले पानी टाउकोमा हाल्ने र फिर्ता हुने गर्नु गर्दो रहेछ । यहाँ पुजारी बसेर टिका लगाउँदा भक्तजनहरू लाई भीरमा ढिला हुने अप्ठेरो भिडभाड हुने गरेको देखियो । यहाँ टिका लगाउने बाहुन नबस्दा राम्रो हुने सबैको सुझाव थियो । मन्दिरको तल बाट नै फलामको रेलिङ र सिडीहरू हुँदा माथी मन्दिर पुग्न सहज थियो । हामी मन्दिर पुग्दा धेरै मान्छेले टेन्ट हाली सकेका थिए । मन्दिर दर्शन गर्नेको पनि दुईवटा ठुलै लाइन बसिसकेका रहेछन् । मन्दिर भएको ठाउँको जमिनको टुप्पोको आधा क्षेत्र मात्र केही भिरालो भएकाले त्यहाँ नै मान्छेहरूको बस्ने टेन्ट र होटलहरु राख्ने ठाउँ रहेछ । हिँड्ने बाटो पनि त्यसैमा भक्तजनहरूको लाइनले भिडभाड निकै थियो । पछाडिको बाँकी क्षेत्र भीर रहेछ । मन्दिर भित्र मुल पुजारी एक जना कालीकोटका र एक जना बाजुराका पुजारी बस्ने रहेछन् । बडिमालीका दर्शन गर्न गएका भक्तजनहरूले आफूले ल्याएको भेटी दान दक्षिणा मन्दिरका पुजारी लाई दिने र पुजारीले भित्र बाट नाम सोध्ने र नाम पुकार गरी पुजारीले देवीलाई उहाँको मनोकाङ्क्षा पुरा होस् भनेर सुनाउँथे । पुजारीले मन्दिर भित्रबाट जे जति हातमा आएको प्रसाद दिए पछि भक्तजनहरूको बडिमालीका दर्शन पुरा हुने रहेछ ।

हाम्रो टोली सिडिओसहितको सरकारी टोली भएकाले लाइनमा नबसी मन्दिर दर्शन गर्न पाइयो । हाम्रो टोली त्यहाँ बस्ने भनेर बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीले दुईवटा टेन्टको व्यवस्था गरि दिनुभएको रहेछ । तर हामी सबै लाई टेन्ट नपुग्ने र त्यहाँ बस्न अलि गाह्रो हुने महसुस गरेपछि सानो नास्ता गरेर हामी नाटेश्वरीको बाटो हुँदै हिँड्ने तयारी भयो । राती पानी परेमा ओरालो बाटो चिप्लो हुन्छकी भन्ने डर हामी सबैलाई थियो ।

भक्तजनहरूको लाइन व्यवस्थापनको लागी मन्दिरमा स्वयमसेवकहरु, स्काउटका भाइहरू खटीएका थिए । तर त्यहाँ ठुलै लाइन थियो । लाइनमा भएका सबै भक्तजनहरूको एउटै माग थियो की लाइन छिटो अगाडी बढ्नु पर्‍यो । एउटा मन्दिरमा दुई पुजारी बस्नु भन्दा अर्को मन्दिरमा अलग अलग ठाउँमा पुजारी बस्ने व्यवस्था गर्नुपर्‍यो । पुजारी थपेर चार पाँच स्थानमा भेटी दान दक्षिणा दिने व्यवस्थापन गर्नु पर्यो भन्ने कुरा पनि बाहिर उठिरहेको थियो ।

यहाँ देवी भगवती मालिकालाई बन्धक बनाएको जस्तो आभास भयो मलाइ । यहाँका मुल पुजारी र अन्य व्यवस्थापन पक्षहरूले भक्तजनहरू लाई दुःख दिईरहेको जस्तो महसुस भयो मलाई । लाइनमा बसेका मान्छेहरु पाँच दश घण्टापछि मात्र पालो आएको भनेर बाटोमा गुनासो गरिरहेका थिए । रातभरि लाइनमा बसेको दुखेसो पनि भक्तजनहरूले गरिरहेका थिए । मन्दिरको आँगनमा पुजारी बसेर धेरै ठाउँ बाट भक्तजनहरूको भेटी दान दक्षिणा बुझिलिने र प्रसाद दिने व्यवस्थापन गर्नु यस मेलाको सुधार गर्नु पक्ष लाग्यो ।

लाइनमा बसेका मान्छेहरु पाँच दश घण्टापछि मात्र पालो आएको भनेर वाटोमा गुनासो गरिरहेका थिए । रातभरी लाइनमा बसेको दुखेसो पनि भक्तजनहरुले गरिरहेका थिए । मन्दिरको आँगनमा पुजारी बसेर धेरै ठाँउ बाट भक्तजनहरुको भेटी दान दक्षिना बुझिलिने र प्रसाद दिने व्यवस्थापन गर्नु यस मेलाको सुुधार गर्नु पक्ष लाग्यो ।

भक्तजनहरूको लाइन व्यवस्थापनको लागी मन्दिरमा स्वयमसेवकहरु, स्काउटका भाइहरू खटीएका थिए । तर त्यहाँ ठुलै लाइन थियो । लाइनमा भएका सबै भक्तजनहरूको एउटै माग थियो की लाइन छिटो अगाडी बढ्नु पर्‍यो । एउटा मन्दिरमा दुई पुजारी बस्नु भन्दा अर्को मन्दिरमा अलग अलग ठाउँमा पुजारी बस्ने व्यवस्था गर्नुपर्‍यो । पुजारी थपेर चार पाँच स्थानमा भेटी दान दक्षिणा दिने व्यवस्थापन गर्नु पर्यो भन्ने कुरा पनि बाहिर उठिरहेको थियो ।

यहाँ देवी भगवती मालिकालाई बन्धक बनाएको जस्तो आभास भयो मलाइ । यहाँका मुल पुजारी र अन्य व्यवस्थापन पक्षहरूले भक्तजनहरू लाई दुःख दिईरहेको जस्तो महसुस भयो मलाई । लाइनमा बसेका मान्छेहरु पाँच दश घण्टापछि मात्र पालो आएको भनेर बाटोमा गुनासो गरिरहेका थिए । रातभरि लाइनमा बसेको दुखेसो पनि भक्तजनहरूले गरिरहेका थिए । मन्दिरको आँगनमा पुजारी बसेर धेरै ठाउँ बाट भक्तजनहरूको भेटी दान दक्षिणा बुझिलिने र प्रसाद दिने व्यवस्थापन गर्नु यस मेलाको सुधार गर्नु पर्ने पक्ष लाग्यो ।

मालीका दर्शन गरेपछि हामी सोही दिन फर्केर त्रिवेणी नगरपालिकाको क्षेत्र विस्नापानीदेखी तल चंखेली भन्ने ठाउँमा आइपुग्यैाँ । हामीलाई यहाँ आइपुग्न करिब चार घण्टा जति समय लागेको थियो । आजको रात हामी यही बास बस्ने भयौँ । यहाँको भैँसी गोठमा बास तय भयो । दूध सँग रोटी खान पाइयो । यो मेलाको यात्रामा भात भनेको कतै पकाएको देखिएन । सदरमुकाम मार्तडीबाट बडिमालीका जाँदा दुई दिनको उकालो र माथी ठुला ठुला पाटनहरूको यात्रा आनन्द थियो भने फर्किँदा खेरी भयङ्कर उछाड भीरहरू र ओरालो जोखिम बाटो देख्दा कस्तो अचम्मको प्रकृति रहेछ भन्ने आभास भइरहन्थ्यो । साना–साना मन्दिरहरू पनि देखिने यस बाटोमा मालीका दर्शन गरि आएपछि नाटेश्वरीको मन्दिरमा बोका बली दिने प्रचलन रहेछ । हाम्रो बोका बली दिने योजना नहुँदा हामी नाटेश्वरी नबसेर हिँडी हाल्यौँ । कैलाशमाण्डु गाडी चढेर एक आधा घण्टा तल झरेपछि बुढीगंगाको खोला तरेर हामी बाम्का प्रहरी चौकी बाट हाम्रो गाडी चढेर साँझ नै बझाङको लागी हिँड्यो । बिहान चैनपुर पुग्दा हाम्रो यात्रा ५ दिनको भइसकेको थियो ।

यो बाटो झर्दा पनि भक्तजनहरूका लागी बस्ने खानेकुरा प्रशस्तै थियो । बडिमालीका टापुबाट भीरको टापु टापु हुँदै सिधै ओरालो बाटो बाजुरा बाम्का बजार आएर टुङ्गिँदो रहेछ । केही मान्छेहरू बाम्का बजारबाट यो बाटो भएर मालिका पनि जाँदा रहेछन् । तर यो बाटो मालिका मन्दिरसम्मै ठाडै उकालो भएकाले विशेष परिस्थिति बाहेक खासै यहाँबाट कोही जाँदैनन् ।
मालिका जान सहजका लागि यो मोहडाबाट पनि अहिले सडक बाटो माथिसम्म काटेको देखियो । मार्तडीबाट सडक बाटो सोता पाटनसम्म र कैलाशमाडौं नाटेश्वरीको यो बाटो विष्णु पानी चंखेलीसम्म सडक पहुँच गरी गाडीको यात्रा र केबुलकारको व्यवस्थापन गराउन सके बडिमालीका देशकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तव्य स्थल बन्ने सम्भावना निकै रहेछ । यस ठाउँको धार्मिक तथा ऐतिहासिक महत्व आफ्नै ठाउँमा होला तर प्राकृतिक भौगोलिक सुन्दरता र डर लाग्दा निछाड भीर पहराहरूको दृश्य अवलोकन गर्नु अर्को विशेषता हो बडिमालीकाको । मलाई लाग्छ यो विश्वकै अद्भुत भौगोलिक बनावट होला यहाँ । यहाँको जल,जमिन जडीबुटीको अध्ययन/अनुसन्धान गरि यो क्षेत्रलाई सरकारले बहुउपयोग गर्न सक्ने सम्भावना प्रशस्त रहेछ ।

सत्य युगमा भगवान् शिवले सतीदेवीको शरीरलाई संसार भर घुमाउने क्रममा पर्वत शृङ्खलामा शरीरका अङ्गहरू खसेको र पछि सोही स्थानमा देवीको अवतार भएको जन विश्वास अनुसार बडिमालीका पर्वतमा १४ सय वर्ष अगाडीदेखि यहाँ पूजा हुन थालेको जनविश्वास रहेछ । बडिमालीका पूजा सकिए पछि पछिल्लो रात त्यहाँको फोहर सफा हुने गरि ठुलो पानी पर्ने हुँदा अहिले पनि यहाँ दैविक शक्ति रहेको स्थानीयहरू बताउँछन्। ठुलो धार्मिक शक्तिपिठ रहेको बडिमालीका दर्शनले मनले सोचेको र मागेको वर पुरा हुने जनविश्वास अहिले पनि रहँदै आएको छ । भगवान् खोज्न हिँडेका सबै भक्तजनहरूको कल्याण होस् ,जगत जननी बडिमालीकाको जय!जय!
रोकाया नेपाल पत्रकार महासङ्घ बझाङका निर्वतमान अध्यक्ष तथा रेडियो नेपालका पत्रकार हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button