तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ I हाल भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेको जलवायु परिवर्तनको असर लगायतका विविध साझा समस्याहरूको संयुक्त रूपमा अनुसन्धान गरी समाधानका उपायहरू सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ । 

आज नयाँ दिल्लीमा उहाँसँग शिष्टाचार भेटका लागि पुग्नुभएका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक के. के. अग्रवालसँग उहाँले सो आग्रह गर्नुभएको हो । 

अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा राणाले भन्नुभयो “जलवायु परिवर्तन त अहिलेको यस क्षेत्रकै ज्वलन्त समस्या भयो । त्यस्तै अरू पनि हाम्रो दक्षिण एसियाली क्षेत्रका कैयौँ साझा समस्या छन् । ती समस्याको समाधानका लागि यो विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरूले संयुक्त रूपमा अनुसन्धान उपायहरू सुझाउन सकेमा राम्रो हुन्छ भन्ने मलाई लाग्दछ ।” 

त्यस अवसरमा सो विश्वविद्यालयका अध्यक्ष प्राध्यापक अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरूका बारेमा जानकारी गराउँदै यस अन्तर्गत नेपाल क्याम्पस स्थापना गर्न प्रस्ताव गर्नुभयो । सो विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरूको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वविद्यालयको पदेन चान्सलर रहने व्यवस्था पनि छ ।  

गत आइतबार नयाँ दिल्ली पुग्नुभएकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस.जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएकी मन्त्री डा राणा आज अपराह्न स्वदेश फर्कँदै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button