तपाईँ सुन्दै हुनुहुन्छः

कलमको निभको टुप्पोमा भएको शक्ति सबैभन्दा शक्तिशाली: वरिष्ठ न्यायधीश राउत 

काठमाडौँ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायधीश प्रकाशमान सिंह राउतले कलमको निभको टुप्पोमा भएको शक्ति सबैभन्दा शक्तिशाली हुने भन्दै यसको प्रयोग मर्यादित ढंगले हुनुपर्ने बताउनुभएको छ  ।

ललितपुरको होटल हिमालयनमा आज आयोजित अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठतम न्यायधीश राउतले आफू सधैँ स्वतन्त्र प्रेसको पक्षमा रहेको बताउँदै पत्रकारिता निष्कलङ्क हुनुपर्ने बताउनुभयो ।

वरिष्ठतम न्यायधीश राउतले अदालतमा अनावश्यक हस्तक्षेप र निहित स्वार्थले अदालतको गरिमा र जनआस्था घटाउने स्पष्ट पार्नुभयो । न्यायधीश हरि फुयाँले न्यायिक पत्रकारिताको सुरुवातदेखि हालसम्म भएका अभ्यासका आधारमा अदालती रिपोर्टिङ दिग्दर्शनको तयारी गर्न लागिएको बताउनुभयो  । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयोगी हुने बताउनुभयो  । नेपाल बार एशोसिएशनका महासचिव अञ्जिता खनालले अदालती पत्रकारितालाई सरल बनाउन कानुनी शब्दहरूबारे अभिमुखीकरण गर्न आवश्यक रहेको बताउनुभयो  । 

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवम् न्यायिक पत्रकार मञ्चका संस्थापक शिव गाउँलेले अदालती पत्रकारिता आम स्रोता र पाठकप्रति उत्तरदायी, तथ्यपरक र वस्तुपरक हुनुपर्ने बताउनुभयो । 

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष कालिका खड्काले अदालती पत्रकारलाई सहयोग पुग्ने गरी अदालती रिपोर्टिङ दिग्दर्शन तयारी गरिरहेको बताउनुभयो  । संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र सर्वोच्च अदालतको संयोजनमा अदालती रिपोर्टिङ दिग्दर्शन तयारी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button