तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारहरूले निष्पक्ष रुपमा सही सूचना सम्प्रेषण गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन सञ्चारकर्मीले सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्थाका तेहौँ स्थापना दिवसको अवसरमा विराटनगरमा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले सञ्चारकर्मीले दलगत भावनाबाट माथि उठेर राष्ट्र र समाजको हितमा कलम चलाउनुपर्ने बताउनुभयो ।

सञ्चारकर्मीहरूले मुलुकको लोकतन्त्र स्थापना र मुलुकका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सङ्घीयता कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार पत्रकारिता क्षेत्रको विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै प्रत्येक वर्ष प्रदेश सरकारले पत्रकारलाई सम्मान गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताउनुभयो ।
उहाँले पत्रकारहरूद्वारा सञ्चालित सहकारी संस्थाले पत्रकारहरूको क्षमता अभिवृद्धि र हौसला प्रदान गर्न स्थापना गरेको पत्रकारिता पुरस्कारले पत्रकारलाई आगामी दिनमा काम गर्ने थप प्रेरणा मिल्ने बताउनुभयो ।

सो अवसरमा मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्नुहुने उत्कृष्ट चार जना पत्रकारलाई नगदसहित सम्मान गरिएको थियो ।

त्यस अवसरमा ५१ हजार राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता पुरस्कारबाट उद्घोष दैनिकका सम्पादक मोहन प्रसाद भण्डारी, ५० हजार राशिको ओमप्रकाश गोयल आर्थिक पुरस्कार कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता सुशिला पाठक, २१ हजार राशिको मेम्वर चन्द्रलाल–लाल दुर्गादेवी श्रमजीवी पुरस्कार मकालु टेलिभिजनका वरिष्ठ संवाददाता नवीन कर्ण तथा १० हजार राशिको मीनादेवी श्रेष्ठ (रासस) श्रमजीवी पुरस्कार उद्घोष दैनिकका जुनु भट्टराईलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा पुरस्कार संरक्षक एवं समाजसेवी दिनबन्धु गोयलले आफ्नो आम्दानीको ९० प्रतिशत समाजसेवामा खर्च गर्ने गरेको जानकारी दिनुभयो ।
सहकारी संस्थाका अध्यक्ष दिपक दाहाल, प्रदेश सहकारी संस्थाका रजिष्ट्रार हरिबहादुर खत्री र सम्मानित व्यक्तित्व भण्डारीले आफूहरूले पाएको सम्मानले थप प्रेरणा मिलेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button