तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशको बजेटलाई लयमा ल्याउने प्रयास भइरहेको छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको बजेटलाई लयमा ल्याउने प्रयास भइरहेको बताउनुभएको छ ।

सामाजिक बिकास मन्त्रालयले विराटनगरमा आज आयोजना गरेको लैङ्गिक रूपान्तरणकारी दृष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धि कार्यशाला गोष्ठीमा मुख्यमन्त्री कार्कीले २०७८ सालदेखि प्रदेश सरकारको बजेटको सन्तुलन बिग्रिएकाले बजेटलाई सन्तुलनमा ल्याउने काम भइरहेको बताउनुभयो ।

“दुई वर्षअघि बजेट निर्माण गर्दा जानेर÷नजानेर गल्ती भयो । अहिले सन्तुलनमा ल्याउने काम भइरहेको छ ।”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधारको क्षेत्रमा निर्माण भइरहेका संरचनामा बजेट विनियोजन गरिरहनुपर्ने अवस्था रहेकाले स्रोतको चाप कम हुँदा महिलामैत्री बजेट आउन नसकेको बताउनुभयो । संघीय सरकारले बजेटको आकार बढाए पनि प्रदेश सरकारलाई दिने बजेट प्रत्येक वर्ष घटाउँदै आएकाले आवश्यक विषयमा बजेट छुटयाउन नसकेको उहाँले बताउनुभयो ।

अब पुल, बाटोलगायत भौतिक पूर्वाधार निर्माणभन्दा पनि मानवीय सुचांकलाई माथि उठाउने खालका कार्यक्रम ल्याउन समेत उहाँले जोड दिनुभयो ।

दोस्रो कार्यकालमा प्रदेश सरकार परिवर्तन भइरहेका कारण नीतिगत तथा बजेटहरूमा प्रभाव परेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री कार्कीले बजेटलाई पुनरावलोकन गरेर भएपनि लैङ्गिक उत्तरदायी बजेट निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले कर्मचारी अभावका कारण लक्ष्य अनुसारको बजेट खर्च गर्न नसकिरहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षमा ७८.३५ प्रतिशत पुँजीगत र ७५.३६ प्रतिशत चालु बजेट खर्च भएको जानकारी दिनुभयो ।
कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले महिला अधिकार सुनिश्चित गर्न महिला नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री पाचकर्ण राईले प्रदेश सरकार लैङ्गिक उत्तरदायी बजेटमा प्रतिबद्ध रहेको बताउनुभयो ।

पूर्व सचिव कृष्णहरी बास्कोटाले कार्यपत्र प्रस्तुत गर्नुहुँदै महिलालाई पुर्णरुपमा सक्षम बनाउन महिलामैत्री बजेट आवश्यक रहेको बताउनुभयो ।

सामाजिक विकास समितिका सभापति गयानन्द मण्डल सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराइले महिला हक अधिकारका विषयमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button