हेटौँडामा नमुना सडक बनाइँदै
बागमती । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमुना सडक बनाउने भएको छ । हेटौँडा –४ स्थित रजत जयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमुना सडक बनाउन लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमुना सडकको रूपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले जानकारी दिनुभयो ।
सहरी विकास मन्त्रालयअन्तर्गतको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौँडा– ४ स्थित रजत जयन्ती मार्गको करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने कर्नाबत्ती मार्गलाई स्मार्ट लाइट, फुटपाथ, नालासहित नमुना सडकको रूपमा निर्माण गरिने उहाँले बताउनुभयो ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले ती दुवै सडकलाई फराकिलो बनाई नमुना सडकको रूपमा स्तरोन्नति गर्ने काम अघि बढाएको उहाँले बताउनुभयो । रजत जयन्ती मार्गलाई चार लेनको सडकको रूपमा विकास गर्दै दुवैतर्फ फुटपाथ, बेरियर, सडक बत्तीसहित अक्सपाल्ट पिच गरिने र क्याक्पाडाँडा पुलदेखि हेटौँडा–१५ तीनकुने चौकसम्मको कर्णबत्ती मार्गको डेढ किलोमिटर सडकलाई दाँयाबाँया साढे सात मिटर चौडा गरिने योजना रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले बताउनुभयो ।
सङ्घीय सरकारको विनियोजित रकमबाट यी दुई सडक तथा हेटौँडा–६ को वडा कार्यालय भवनसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो । तीन वटै योजना आगामी १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजना प्रमुख थापाको भनाइ छ । नमुना सडक निर्माणले हेटौँडाको पहिचान बढाउन मद्दत पुग्नुका साथै पर्यटन पर्यावरणमा सहयोग पुग्ने हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बताउनुभयो । यी दुई सडक स्तरोन्नति हुँदा जनताले अपेक्षा गरेको विकास काम प्रत्यक्षरुपमा अनुभूति गर्ने र आगामी दिनमा नगर क्षेत्रका अन्य सडकलाई पनि स्मार्ट बनाउन सकिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्