तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फुलफेजमै चल्छ : पूर्व अर्थमन्त्री पौडेल

भैरहवा । पूर्व अर्थमन्त्री बिष्णु पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फुलफेजमा चल्नुपर्ने र चल्ने बताउनुभएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सार्वजनिक लेखा समितिले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य पौडेलले सबै पूर्वाधार तयार भएकाले ढिला भएपनि फुल फेजमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्ने बताउनुभयो ।

“यो विमानस्थल यस्तो ठाउँमा छ जसले संसार चिन्दैन त्यसले लुम्बिनी चिन्छ यो पर्यटनको प्रवेशद्वार हो यस स्थानमा विमानस्थल छ”, उहाँले भन्नुभयो, “यो विमानस्थल चल्ने पर्याप्त आधार छन् ।”

“एयर रुटका कारण यो विमानस्थल सरकारको कार्यसूचीमा परेन, सबै विषयमा प्राथमिकतामा परेन नपरेको हुनाले नचलेको हो ।”, उहाँले भन्नुभयो, “सबैको उपस्थितिमा विमानस्थल कसरी चलाउने भन्ने व्यवस्थित कार्यपत्रका आधारमा छलफल गरेर कुन मन्त्रालयले कस्ता काम गर्ने भनेर जाँदा यो विमानस्थल चल्न सक्छ । हामी विमानस्थल बनायौँ।” सबै मन्त्रालयले क्यालेन्डर बनाएर काम गर्नु पर्ने उहाँको भनाइ थियो ।

सार्वजनिक लेखा समितिका संयोजक योगेश भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा अध्ययन गर्ने, लगानी कति भयो?, ऋण सहयोग के कति भयो ? मुख्य चासो विमानस्थल के कारणले बनाएका थियौँ ? भन्ने विषयमा अध्ययन गरिएको र पुर्णरुपमा चलाउनका लागि लागिरहेको बताउनुभयो । “सबै राज्यकै लगानी हो । यो विमानस्थल यहाँ बन्छ भनेर सुनिश्चितता भएपछि निजी क्षेत्रको लगानी भएको छ ।”, उहाँले भन्नुभयो । विमानस्थलका बारे प्रधानमन्त्री तहमा समेत छलफल गर्ने संयोजक भट्टराईको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु वासुदेव घिमिरे, अमरेश कुमार सिंह, मनिष झा, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, प्रदेशसभा सदस्यहरु, उद्योगी व्यवसायी लगायतले विमानस्थल पुर्णरुपमा चलाउनका लागि मन्त्रालयले प्रमुख कार्यसूचीमा राखेर पहलकदमी लिन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button