तपाईँ सुन्दै हुनुहुन्छः

दूध उत्पादन वृद्धि गर्न किसानलाई अनुदानमा पाडी वितरण

रुपन्देही । बुटवल उपमहानगरपालिकाले दूध प्रवर्द्धन कार्यक्रम अन्तरगत पशुपालक किसानलाई पाडी वितरण शुरु गरेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैँसीका पाडी वितरण शुरु गरेको हो।

जसअनुसार आइतबार बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरेको छ। एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दूध उत्पादनमा सबल बनाउनका लागि भैँसीका पाडी वितरण गरिएको बताउनुभयो। उहाँले वितरण गरिएका पाडीहरूको बीमा गरी किसानलाई उपलब्ध गराइएको बताउनुभयो।

आइतबार ३३ वटा पाडी वितरण गरिएको र बाँकी सोमबार वितरण गरिने पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताउनुभयो । उहाँका अनुसार चालु वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन्।

बुटवलले यसअघि किसानलाई दूध र दूधजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी संस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो।

मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रीजेरेशन युनिट, कन्ट्रोलप्यानल सहितको मेसिन  उपलब्ध गराइएको हो।

पशुपंक्षी विकास अधिकृत बञ्जाडेले गाईभैसी गोठ सुधारतर्फ २८ जनालाई अनुदान प्रदान गरिएको जानकारी दिनुभयो। गाई भैँसी गोठ सुधार, बाख्रा कुखुरा खोर सुधार, मासु पसल, माछापोखरी तथा बङ्गुर खोर सुधारतर्फ अनुदान दिएको उहाँले बताउनुभयो। आहारा सुधार सेवा कार्यक्रम अन्तरगत उन्नत जातको घाँसको बिउ अनुदानमा वितरण गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button