तपाईँ सुन्दै हुनुहुन्छः

असई हत्या प्रकरणमा पूर्व प्रदेश सांसद यादव पक्राउ

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले पूर्व प्रदेश सांसद कौशाल यादवलाई पक्राउ गरेको छ । 

मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद कौशाल यादवलाई प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी यादवलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई प्रहरीले आइतबार जिल्ला अदालत महोत्तरीमा पेश समेत गरेको छ । 

पूर्व प्रदेश सांसद यादव पक्राउ महोत्तरीको पोखरभिन्डामा यादवले चलाइरहेको गाडी र भारतीय नम्बर प्लेटको गाडी दुर्घटनामा परेको र दुर्घटनामा परेको गाडीसहित भाग्न खोज्दा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएको र उपचार भइरहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका यादवलाई प्रक्रिया पूरा गर्न अदालतमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले बताउनुभयो । यादवलाई ८ बर्ष पछि को मुद्दा जिल्ला अदालतले मुल्तवीमा राखेको छ । सोही मुद्दामा नेकपा एमालेका प्रतिनिधि साभा सदस्य लक्ष्मी महतो कोइरी जिल्ला अदालतबाट सफाइ पाइसकेका छन् ।

०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।

जिल्ला अदालतले मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई विकको हत्या मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्म कैदको सजाय तोकिएपछि हाल फरार रहेका छन् ।

उक्त मुद्दामा जिल्ला अदालतले प्रदीप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई ज्यान सम्बन्धी महलको १ र १३(३) नं. बमोजिम कसुर गरेकोले सोही १३(३)बमोजिम जनही जन्म कैद सजायको फैसला सुनाएको छ ।

जन्मकैद सजाय पाएका ७ जनामध्ये प्रदीप साह र संजय कुमार साह ८ वर्षदेखि थुनामा छन् भने जिल्ला अदालतले सजाय तोकेका अन्य फरार रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button