तपाईँ सुन्दै हुनुहुन्छः

संसद् कानुन बनाउने थलोमात्रै नभई राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र पनि हो : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताउनुभएको छ ।

६६ औँ संसद् दिवसको अवसरमा आज संघीय संसद् भवनमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद्को भूमिका कानुन निर्माण, सरकार निर्माण, ऐन कार्यान्वयन र सरकारलाई राम्रो काम गर्न निर्देशन दिने हुनाले यो राष्ट्र निर्माणको केन्द्र पनि भएको बताउनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको अवस्थामा संविधानको कार्यान्वयन मुख्य जिम्मेवारी भएकाले ऐन कानुनको निर्माणमा जोड दिँदै स्पष्ट दृष्टिकोण निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले राज्यलाई फाइदा हुने गरी संसद्लाई व्यवस्थित क्रियाशील र गतिशिल बनाउनु अहिलेको आवश्यकता भएको औँल्याउनुभयो ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसद्लाई प्रभावकारी बनाउन संसद्का सबै पदाधिकारी र सांसहरु मात्रै नभई सबैभन्दा जिम्मेवार प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता बन्नुपर्नेमा जोड दिँदै उनीहरू जिम्मेवार बन्न नसक्दा समस्या उत्पन्न भइरहेको बताउनुभयो ।

पूर्व सभामुख तारानाथ रानाभाटले सांसदले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रको मात्रै नभई समग्र नेपाल र नेपालीको हितका विषयमा अध्ययन गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संविधानको प्रभावकारी अभ्यास र कार्यान्वयनका  लागि सांसदहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रको निर्माण र रक्षाका लागि राष्ट्रिय दृष्टिकोण यकीन गरेर समान धारणा बनाउन आवश्यक रहेको बताउनुभयो । 

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सदनलाई प्रभावकारी बनाउन सांसद र पूर्वसांसद मिलेर विचारविमर्श गर्नुपर्ने र विज्ञ पूर्वसांसदको ज्ञानको प्रयोग गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले परिवर्तनलाई संस्थागत गर्दै थप उपलब्धी हासिल गर्न संसद्को भूमिका महत्वपूर्ण रहेको र संघीय संसद्का दुवै सभालाई उत्तिकै महत्वका साथ हेरिनुपर्नेमा जोड दिनुभयो ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठ लगायतले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन पूर्वसांसद मञ्चले खेल्ने भूमिका र अनुभव महत्वपूर्ण हुने बताउनुभयो । 

देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन २०१६ असार १६ गतेको दिनलाई संसद् दिवसको रूपमा मनाउने गरिएको छ ।

जुन ३० अर्थात् आज विश्व संसद् दिवस पनि रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button