तपाईँ सुन्दै हुनुहुन्छः

सम्पादकको योग्यता पुनरावलोकनको तयारी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ । डिजिटलसहित विभिन्न सञ्चार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यक देखिएको काउन्सिलले जनाएको छ । सोही कारण पुनरावलोकनको प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो । 

“प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको छ । सञ्चार माध्यमको सम्पादकीय नेतृत्व गर्ने सम्पादकको योग्यतामा फेरबदल भएको छैन । सोही कारण हामीले त्यसको योग्यता र मापदण्ड पुनरावलोकन प्रक्रिया थालेका हौँ”, अध्यक्ष बस्नेतले आज नयाँ अनलाइन, युट्युब, सञ्चार माध्यमका सञ्चालक, सम्पादकलाई काउन्सिलमै राखिएको अभिमुखीकरण कार्यक्रममा भन्नुभयो ।

पत्रकारलाई गल्ती गर्ने छुट नभएकातर्फ हरदम ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले मानवीय कमजोरीले यदाकदा गल्ती भए क्षमायाचनासहित सच्याउन सधैँ अग्रसर हुन सुझाव दिनुभयो । अभिमुखीकरणमा आचारसंहिताको पाटोमा कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक विजय पौडेल र विभिन्न सञ्चार निर्देशिका एवं अनुगमनबारे काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सहजीकरण गर्नुभएको थियो । पत्रकार पौडेलले दर्शक बढाइ केही कमाउने लोभमा पत्रकारिता सक्नेतिर कोही पनि लाग्न नहुने बताउनुभयो । 

पत्रकार आचारसंहिता र पत्रकारिताको धर्म पालना गर्दैअघि बढेमा युट्युबसहित सामाजिक सञ्जालको सदुपयोग हुने उहाँको सुझाव थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button