तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता: नवलपुर र स्याङ्जाको जित

पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत नवलपुर र स्याङ्जाले  जित हासिल गरेका छन्। पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा जारी समूह ‘बी’ को खेलमा दुवै जिल्लाले जित निकालेका हुन् । 

नवलपुरले पर्वत विरुद्धको खेलमा ६ विकेटले जित निकालेको हो । वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेटको क्षतिमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिनु भयो । अमृत गुरुङले १५ बलमा २ चौका र एक छक्काको मद्दतले २३ रन जोड्नु भयो । नवलपुरका लागि बलर ऋषि गोविन्द श्रेष्ठले ३ विकेट लिनु भयो भने कमल परियारले २, सुदिप अर्याल र स्वीकार श्रेष्ठले समान १–१ विकेट लिनु भयो । 

९४ रन पछ्याएको नवलपुरले १३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य परा गरेको हो । खेलको म्यान अफ दि म्याच समेत रहनु भएको नवलपुरका प्रमिश अर्यालले ३६ बलमा चार चौका प्रहार गर्दै ३४ रन जोड्नु भयो । पर्वतका रोशन गौतमले २ विकेट लिनु भयो भने विकाश क्षेत्रीले १ विकेट आफ्नो नाममा लेखाउनु भयो । 

गोरखा विरुद्धको खेलमा स्याङ्जाका बलर किरण भट्टराईले ५ विकेट लिँदा स्याङ्जाले १० विकेटले सम्मानजनक जित हासिल गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको गोरखा १८.१ ओभरमा सबै १० विकेट गुमाउँदै ७४ रनमा समेटियो । स्याङ्जाका किरणले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा दुई मेडनका साथ ७ रन दिएर ५जनालाई आउट गराउन सफल हुनु भयो । उहाँ खेलको म्यान अफ दि म्याच समेत घोषित हुनु भयो । त्यस्तै विपिन राज न्यौपानेले ३ं.१ ओभरमा ४ रन दिएर ३ विकेट लिए भने अंकित न्यौपाने र तुल्सी भण्डारीले समान १–१ विकेट लिनु भयो । 

यता जवाफी ब्याटिङमा उत्रिएको स्याङ्जाले विस्फोटक ब्याटिङ गर्दै ८.४ ओभरमा कुनै पनि विकेट नगुमाई ७५ रनको लक्ष्य पूरा गर्न सफल भयो । स्याङ्जाका ओपनर खेलाडी द्वय ईश्वर क्षेत्री र करण पगेनीको जोडीले उत्कृष्ट ब्याटिङ गर्दै लक्ष्य मात्रै भेट्टाएनन् टिमका लागि २ अङ्क समेत जोड्न सफल हुनु भयो । ईश्वरले २३ बलमा ३ चौका र ३ छक्काको मद्दतले ३६ रन बनाउँदा करणले २९ बलको सामना गर्दै ३ चौक र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान दिनु भयो ।

मङ्गलवार पहिलो खेल पर्वत र स्याङ्जाका बीच हुनेछ भने दोस्रो खेल पर्वत र नवलपुरका बीच हुने भएको छ । 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनु भयो । ५ विकेट लिने स्याङ्जाका किरण भट्टराई प्लेयर अफ दि म्याच घोषित हुनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button