तपाईँ सुन्दै हुनुहुन्छः

विपद् प्रतिकार्यमा खटिन रेडक्रसकर्मीलाई अनुरोध

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले देशभर भइरहेको बाढी पहिरो लगायतका विपद्मा सरकारका निकायसँग सहकार्य गर्दै विपद् प्रतिकार्यमा खटिन सम्पूर्ण रेडक्रसकर्मीलाई अनुरोध गरेको छ ।

यस वर्ष विगतका वर्षभन्दा वर्षाको सम्भावना उच्च भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

रेडक्रसले देशैभरका आपत्कालीन कार्य सञ्चालन केन्द्र सक्रिय बनाई समुदायमा विपद्का कारण आइपर्न सक्ने विषम परिस्थितिको आँकलन गरी पूर्व तयारीसहित प्रतिकार्यका लागि तयार रहन आग्रह गरेको हो ।

रेडक्रसका अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले आज विज्ञप्ति जारी गरी प्रभावित जिल्लामा उद्धार तथा सहायताका सामग्री वितरणमा संलग्न हुनसमेत सोसाइटीका प्रदेश, जिल्ला र उपशाखा सबैमा अनुरोध गर्नुभएको छ ।

“प्रभावित समुदायलाई समयमै आवश्यक सहायता उपलब्ध गराउनेतर्फ रेडक्रस उद्धत रहेको सबैमा जानकारी गराउँदछौँ । विपद् पूर्व तयारीसहित विपद्पश्चात् गरिने उद्धार एवं सहायता सामग्री वितरणमा हामी सबैको ध्यान जानुपर्ने र यस वर्ष मनसुन केही बढी क्रियाशील हुने मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सबैलाई सजग रहन अनुरोध गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष नेपालले विज्ञप्तिमार्फत नै समुदायमा सेवा गरी विपद् उत्थानशील समुदाय निर्माण गर्ने रेडक्रसजस्तो परोपकारी संस्थालाई सरकारका सम्बद्ध मन्त्रालय तथा विभाग, प्रदेश र स्थानीय सरकार तथा दातृ निकायलाई आवश्यक सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

विसं २०२० साल भदौ १९ गते ‘नेपाल रेडक्रस सोसाइटी’ को स्थापना भएको हो ।

हाल रेडक्रसको सात प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय छन् । छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलको साङ्गठनिक स्वरूपबाट समुदायमा सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button