तपाईँ सुन्दै हुनुहुन्छः

जथाभावी फोहोर फाल्ने ६ सय ३५ जना कारबाहीमा

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्ने ६ सय ३५ जनालाई कारबाही गरी जरिवाना बापत ३८ लाख ५५ हजार भन्दा बढी जरिवाना असुल गरेको छ ।

वीरगन्ज महानगरपालिकाले २०७९ पुष १७ गतेदेखि सडक, नाला, खाली जग्गा लगायतका स्थानमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गरि जरिबाना तिराउँदै आएको छ । त्यसयता गत ज्येष्ठ मसान्तसम्म ६ सय ३५ जनालाई कारबाही गरी ३८ लाख ५५ हजार भन्दा बढी राजश्व सङ्कलन गरिएको महानगरपालिकाका सरसफाई व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिनुभयो ।

वीरगन्ज महानगरपालिकाले फोहोर फाल्नेलाई कारबाही गरी न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम ५० हजार रुपैयाँसम्म जरिबाना तिराउँदै आएको छ । महानगरपालिकाले सडक वा अन्यत्र स्थानमा जथाभाबी फोहोर फाल्नेहरूको बारेमा बिहान चार घण्टा, दिउँसो आठ घण्टा र राति चार घण्टा गरी तीन चरणमा निगरानी गर्दै आएको छ ।

सरसफाई प्रमुख मियाँका अनुसार, वीरगञ्ज महानगरपालिकाले विगत केही वर्षदेखि मुख्य र सहायक सडकहरूको फोहोर ठेक्काबाट सङ्कलन गर्दै आएको छ भने ठेक्का बाहेकका क्षेत्रमा महानगरकै सरसफाइ शाखाले फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

नारायणी अस्पताल, वीरगन्ज कारागार, भारतीय महावाणिज्य दूतावास, जिल्ला र उच्च अदालत तथा नाला कटान गरी भएका फोहोरलाई महानगरले सङ्कलन गर्दै आएको छ ।

फोहर व्यवस्थापनमा महानगरपालिकाले अपनाएको कडा नीति र जरिवानाका कारण अहिले बीरगंज सफा र सौन्दर्य सहरको रुपमा विकसित हुँदै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button