तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री पुनसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट

काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग सोमवार शिष्टाचार भेट गर्नु भएको छ ।  

ट्रोटसनबर्ग मङ्गलवारदेखि काठमाडौँमा सुरु भई ४ दिनसम्म चल्ने विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आउनु भएको हो ।

भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र  मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी हुनुहुन्थ्यो । भेटमा अर्थमन्त्री पुनले आइडीए–२१ बैठकको आयोजना नेपालमा गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।

उहाँले बैठकका लागि नेपाललाई छनोट गरेकामा विश्व बैङ्क व्यवस्थापनलाई धन्यवाद दिनु भयो । विश्व बैङ्क समूहका उच्च अधिकारीहरूको काठमाडौँमा हुने बैठकले नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याति बढ्ने समेत अर्थमन्त्रीले उल्लेख गर्नु भयो ।

बैठक सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता पनि अर्थ मन्त्रीले जनाउनु भयो । 

मन्त्री पुनले पाइपलाइनमा रहेका दुई ठूला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशी निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको सराहना गर्नु भयो  । 

जवाफमा विश्व बैंकका प्रबन्ध निर्देशक ट्रोटसनबर्गले नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै नेपाललाई बैंकले सधैँ उच्च प्राथमिकतामा राखेको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button