तपाईँ सुन्दै हुनुहुन्छः

गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । अष्ट्रेलियाका प्रमुख दुई आर्थिक नगरहरू सिडनी र मेलबर्नमा बसोबास गर्ने गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरिएको छ ।

गैर अवासीय नेपाली संघ अष्ट्रेलिया, नेपाल राष्ट्र बैङ्क तथा नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा भएका छुट्टाछुट्टै दुई कार्यक्रमहरूमा नेपालमा लगानीको अवसर, लगानीका सम्भावित क्षेत्रहरू र लगानी गरेर नाफा फिर्ता लैजान पाउने अवस्था लगायतका विषयहरूमा छलफल भएको छ ।

‘नेपाली अर्थतन्त्रमा लगानी सम्भावना र बैङ्किङ सेवा’ विषयक उक्त छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेकोले अस्ट्रेलियाका गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानीका लागि आह्वान गर्नुभयो ।

अध्यक्ष ढकालले नेपालमा लगानीका असीमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएकोले नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआइ डेक्स स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भित्र्याउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुकबाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले त्यसमा सहजीकरण गर्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्क नेपालमा लगानी बढाउन हरतरहले सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै डेपुटी गभर्नर मिश्रले त्यसमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने बताउनुभयो  ।

ग्लोबल आइएमई बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपालमा लगानीका अवसर र सम्भावनाहरू निकै धेरै रहेको बताउँदै ती अवसरहरूलाई वास्तविकतामा बदल्न सम्भावित आयोजनाहरू लिएर आएमा आवश्यक पर्ने पुँजी जुटाउन बैङ्कहरूले ऋण प्रदान गर्न सक्ने उल्लेख गर्नुभयो ।


गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा उपयुक्त वातावरण बनेमा गैर आवासीय नेपालीहरूले नेपालमा लगानीका उपयुक्त अवसरहरू खोजिरहेको बताउनुभयो ।

छलफलमा सहभागी गैर आवासीय नेपालीहरूले अष्ट्रलियाबाट नेपालमा लगानीको सम्भावना रहेकोले उपयुक्त वातावरण बनाउन र त्यहाँबाट नेपाल आउने रेमिटेन्सलाई औपचारिक बैङ्किङ च्यानल मार्फत नेपाल आउने प्रभावकारी व्यवस्था गर्न नेपाल राष्ट्र बैकको ध्यानाकर्षण गराउनु भएको गैर आवासीय नेपाली संघ अष्टेलियाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button