तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकका नदी तटीय क्षेत्रमा गर्मी छल्नेहरूको घुइँचो

सिन्धुपाल्चोक । पछिल्लो समय गर्मी बढ्न थालेपछि शीतल चाहनेहरूको पहिलो रोजाई नदी तटीय क्षेत्र बन्न थालेको छ । लामो समयदेखि पानी पर्न छाडेपछि जिल्लामा ह्वात्तै गर्मी बढेको छ । गर्मी बढेसँगै जिल्लाका साना तथा ठूला नदीहरूमा जल विहार गर्नेहरुको घुइँचो नै लाग्ने गरेको हो ।

पर्यटकीय क्षेत्रको रुपमा ख्याति कमाएको सुनकोसी नदीको तटमा अवस्थित सुकुटे यतिखेर गर्मी छल्नेहरूको पहिलो रोजाइ बन्ने गरेको छ । हरेक शुक्रबार र शनिवारलगायत सार्वजनिक बिदाको दिन सुकुटे घुम्न आउने पर्यटकहरू उल्लेख्य सङ्ख्यामा बढ्न थालेको स्थानीय होटेल व्यवसायीहरू बताउँछन् ।

सुनकोसी नदीमा पौडी खेल्नेहरू मात्र हैन, र्याटिङ र कायकिङ जस्तो सहासिक खेलका लागि पनि यहाँ पर्यटकहरू आउने गर्छन् । त्यसमाथि यहाँका साना तथा ठूला रिर्सोटहरुमा स्विमिङ पुलको व्यवस्था गरिएका कारण पनि जिल्लाका मात्र हैन राजधानी काठमाडौँलगायत देशका धेरै भागबाट यहाँ पर्यटकहरू गर्मी छल्नका लागि आउने गर्छन् ।

हरेक शुक्रबार र शनिबार पाँच सात हजार आन्तरिक तथा बाह्य पर्यटक सुकुटे आउने गरेको भोटेकोसी बीच रिसोर्टका प्रोप्राइटर कृष्णबहादुर सापकोटा बताउनुहुन्छ ।

सुनकोसी र भोटेकोसीमा मात्र हैन, जिल्लाको पश्चिमी भेगको मेलम्ची र इन्द्रावती नदीमा पनि पौडी खेल्दै गर्मी छल्दै गर्नेहरुको लर्को नै लाग्न थालेका छन् । मेलम्चीस्थित सातविसे, इन्द्रावती नदीमा बिदाका समय झण्डै दुई हजारभन्दा बढी आन्तरिक पर्यटकहरू आउने गरेको स्थानीय प्रकाश श्रेष्ठ बताउनुहुन्छ । जिल्लाकै ब्रह्माणी नदीमा पनि पौडी खेल्नहरु उत्तिकै देखिन्छन् ।

१ हजार ४ सय ५० मिटरको उचाइमा रहेको सदरमुकाम चौतारामा एक्कासी तापक्रम बढ्न थालेपछि स्थानीयहरूको जनजीवन नै प्रभावित हुन थालेको छ ।

गर्मी मौसममा बढीमा २८ डिग्री सेलिसेसको तापक्रम भोगिरहेका यहाँका स्थानीयले यसपटक भने ३७ डिग्री सेलिसेससम्मको तापक्रम झेल्नु परेको छ ।

बढ्दो गर्मीलाई छल्नका लागि यहाँका स्थानीयहरू नजिकको भूत छाङ्गो, माथिल्लो र तल्लो झ्याँडी खोला, कुविण्डे खोला लगायतका खोलाहरूमा डुुबुल्किनका लागि जान थालेका हुन् ।

साना साना नदीजन्य पोखरीहरूमा मान्छेको भीड लाग्न थालेका छन् । त्यसो त चिसो ठाउँ खोज्दै जिल्लाका हिमाली गाउँहरूमा पुग्नेको सङ्ख्या पनि बढ्दो छ ।

जिल्लाको पर्यटकीय क्षेत्र हेलम्बु, पाँचपोखरी, जुगल, ओखरेनी लगायतका उच्च हिमाली भेगमा उखरमाउलो गर्मी छल्नेहरूको भीड नै लाग्न थालेका छन् । चिसो मौसमसँगै प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पनि उच्च हिमाली भेगीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक झुम्मिन थालेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button