तपाईँ सुन्दै हुनुहुन्छः

गर्मीका कारण विद्यार्थी बिरामी हुन थालेपछि सल्यानका विद्यालय बन्द

सल्यान । अत्यधिक गर्मी बढेपछि सल्यानका स्थानीय तहहरुले विद्यालय बन्द गर्न थालेका छन् ।

दिनप्रतिदिन तापक्रम बढिरहेपछि बागचौर नगरपालिका, शारदा नगरपालिका, कुमाख गाउँपालिका र त्रिवेणी गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण विद्यालय बन्द गरेका हुन् ।

बालबालिकाहरूको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय पालिकाहरूको भनाई छ ।

शारदा नगरपालिकाले थप तीन दिन बिदा थपको छ । यसअघि जेठ ३२ गतेदेखि असार २ गतेसम्म बिदा दिएको थियो । गर्मी बढी रहेकाले थप तीन दिन अर्थात् ४ गतेदेखि ७ गतेसम्म बिदा दिने निर्णय भएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।
यस्तै कुमाख गाउँपालिका र बागचौर नगरपालिकाले पनि असार ४ देखि ८ गतेसम्म पालिका भित्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् ।

गर्मीले विद्यार्थी बेहोस हुने, टाउको दुख्ने जस्ता समस्या देखिएपछि विद्यालय बन्द गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीको भनाई छ ।

विद्यार्थी बिरामी हुन थालेपछि डाक्टरसहितको टोली केही विद्यालयमा पुगी उपचार गरेको थियो । गर्मीकै कारण विद्यार्थीहरूमा विभिन्न किसिमको समस्या देखिएपछि विद्यालय बन्द गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button