तपाईँ सुन्दै हुनुहुन्छः

कुकुरको हत्या गरेको आरोप तीन जना पक्राउ 

इलाम । कुकुरलाई क्रूरतापूर्वक हत्या गरेको आरोपमा इलामको देउमाई नगरपालिकाबाट तीन जनालाई पक्राउ गरिएको छ ।

केही दिन अगाडी सामाजिक सञ्जाल भूत प्रेत नामक पेजमा एउटा कुकुरलाई लठ्ठीले बारम्बार प्रहार गरी क्रूरतापूर्वक निर्मम तरिकाले हत्या गरी खाल्डो खनी पुरेको भिडियो अपलोड गरेर भाइरल बनाइएको थियो । उक्त घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामले भिडियो कसले अपलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने विषयमा अनुसन्धान तथा खोजी कार्य गरेको थियो । 

सो क्रममा सोमबार बिहान देउमाई नगरपालिका ९ जितपुर बस्ने बर्ष २१को दीक्षान्त मोरोहाङ लिम्बु, सोही स्थान बस्ने बर्ष १७ को संगम लिम्बु र सोही स्थान बस्ने बर्ष १७ को अशोक लिम्बुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यसरी कुकुरलाई हत्या गर्ने विरुद्ध पशु कल्याण संघ नेपालले पशुपंक्षी सम्बन्धी कसुर अन्तर्गत आजै जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दरखास्त समेत दिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत प्रकाश जवेगुले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button