तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसद् सचिवालयका कर्मचारीको मागका विषयमा छलफल

काठमाडौँ । संघीय संसद्का पदाधिकारी र राजनीतिक दलका प्रमुख सचेतकहरूको संयुक्त बैठकले संघीय संसद् सचिवालयका कर्मचारीको मागका विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने सहमति गरेको छ ।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा आज भएको बैठकमा संसद् सचिवालयका कर्मचारीको मागहरू सकारात्मक भएको भन्दै बजेट व्यवस्था लगायतका विषयमा अर्थमन्त्रीसँग छलफल गर्ने सहमति बनेको हो ।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्ताैलाले संसद् सचिवालयका कर्मचारीले उठाएका मागहरू जायज भएपनि अर्थको सहमतिका लागि अर्थमन्त्रीसँग छलफल गर्ने सहमति बनेको जानकारी दिनुभयो ।

संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द प्रसाद बेल्वासेले आन्दोलनका कार्यक्रम रोक्ने गरी कुनै सहमति नभएको जानकारी दिनुभयो ।
अध्यक्ष बेल्बासेले कर्मचारीको माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमहरू जारी रहने र भोली महासचिवको कार्यकक्ष अगाडि बिहान १० बजेदेखि साढे एक घण्टा धर्ना दिने र कार्यालय समयभर कालोपट्टी बाधेर काम गर्ने जानकारी दिनुभयो ।

बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिव, कर्मचारी युनियनका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

संघीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामबापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button