तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराउनेको सङ्ख्या दोब्बरले वृद्धि

गुल्मी । पछिल्ला दिनहरूमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र  बनाउनेको भिड बढेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि श्रावण १ गते देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिएको भन्दै परिचयपत्र बनाउने सङ्ख्या वृद्धि भएको हो ।  

सामान्यतया ४० जना देखि ८० जनासम्मको राष्ट्रिय परिचयपत्रका लागि आवेदन लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीमा पछिल्लो केही दिन यता दोब्बरले सङ्ख्या वृद्धि भएको छ । राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि आवेदनका लागि बृद्धबृद्धाहरु लाइनमा बस्ने गरेका छन् । सुरुमा सरकारले देशमा अन्य २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दैछ । तर पहिलो चरणमा गुल्मी जिल्ला पर्दैन । राष्ट्रिय परिचयपत्र अनिवार्य हुन्छ भन्ने हल्लाले गुल्मीमा पनि राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालयमा आएको मुसिकोट नगरपालिका १ पौदीकी स्थानीय मुन गिरीले बताउनुभयो । 

सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र बनाउन पर्छ नभए भत्ता पाइँदैन र जिल्ला प्रशासन कार्यालयमा गएर बनाउन पर्छ भन्ने रेडियोमा सुनेर परिचयपत्र बनाउन आएको आर्का गुल्मीदरबार गाउँपालिका ४ स्थानीय मायादेवी रोक्काले बताउनुभयो । जसले गर्दा बृद्धबृद्धाहरु घण्टौँ लाइनमा बस्न बाध्य छन् । 

एकै पटक सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय पुग्दा समस्या हुने गरेको छ । अहिले प्रशासन कार्यालयमा २ वटा स्टेशनबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य गरिएको छ । जसमा सरदर ८० जनासम्मको क्षमता रहेको छ । तर अहिले दोब्बरले सङ्ख्या वृद्धि हुँदा सेवा ग्राहीलाई पनि समस्या हुने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

 गुल्मी जिल्लामा करिब २ लाखले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराएका छन् । जसमध्ये ३५ हजारको परिचयपत्र बनेर आएको छ । राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक् नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । नागरिकका सेवा सुविधाहरू सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button