तपाईँ सुन्दै हुनुहुन्छः

तम्घास–खाम्सेपानी सडक कालोपत्रे गर्न सुरु

गुल्मी । गुल्मी जिल्लामा बसौँ देखी अलपत्र सडक कालोपत्रे गर्ने कार्य  सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घास–खाम्सेपानी–नयाँगाउ–नादी सूर्यटारी सडक कालोपत्रे गर्न सुरु भएको छ । सडकको बिच भागमा झण्डै ३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य बिगत ९ वर्षदेखि अलपत्र अवस्थामा रहेको थियो ।

सडकको सुरुको खण्ड तम्घास–खाम्सेपानी अन्तरगत सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन सकेको थिएन । पछिल्लो केही दिन यता सडक कालोपत्रे गर्न थालिएको छ । यो सडक कालोपत्रे हुँदा रेसुङ्गा, धुर्कोट, मदाने गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष लाभान्वित हुनेछन् ।

निर्माण व्यवसायीले पटक पटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पुरा नगर्दा सडक समयमै निर्माण हुन सकेको थिएनन् । व्यवसायीले अन्तिम पटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरेका थिए ।

यस समयमा अघिल्लो वर्ष पहिलो चरणको कालोपत्रे शुरु गरेका थिए । यसवर्ष अन्तिम पटक गर्नुपर्ने कालोपत्रे गर्न सुरु गरेको सडक पूर्वाधार कार्यालय गुल्मीका सव–इन्जिनियर लेनिस देवले बताउनुभयो । अबको केही दिनमै कालोपत्रे गर्ने काम सम्पन्न हुने देवले बताउनुभयो । सडकको २०७१ साल असार ३१ गते सम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो ।

तर निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा त्यस क्षेत्रका नागरिकले सास्ती खेप्नु परेको थियो । सडकको तम्घासदेखि खाम्सेपानी अन्तरगत सुपा खोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरि ७ करोड १९ लाख ८७ हजार ७० रुपैयाँ लागतमा निर्माणको जिम्मा दिइएको थियो ।

सडक खण्डको साढे दुई किलोमिटर भन्दा बाँकी खण्डको केही ठाउँमा २ वर्ष अघि नै कालोपत्रे भएको थियो ।  सदरमुकाम बजारसँग जोडिएको खण्ड वर्षैदेखि अलपत्र हुँदा नागरिक आक्रोशित थिए ।

सडक अलपत्र हुँदा त्यस स्थानका नागरिकहरू वर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । आधा बाटो मात्र कालो पत्रे हुँदा झण्डै ३ किलोमिटर बाटो अलपत्र हुँदा यात्रा गर्न कठिन भएकोमा अब भने कालोपत्रे हुँदा सहज हुने रेसुङ्गा नगरपालिका वडा नम्बर–६ का स्थानीय रोमबहादुर गुरुङले बताउनुभयो ।

सडक कालोपत्रे नहुँदा त्यस स्थानका नागरिकले महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ । सडक सुरुमा पाल्पा सडक डिभिजन कार्यालय हुँदै, तम्घास  सिमलटारी प्युठान सडक, सडक पूर्वाधार विकास कार्यालय शिवपुर कपिलवस्तु हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीले सडक निर्माण कार्य हेर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button