तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा

काठमाडौँ । मदन भण्डारी फाउण्डेशनले  २०८० को मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गर्ने भएको  छ ।

फाउण्डेशनले ७३ औँ मदन जयन्तीका अवसरमा  आज पत्रकार सम्मेलन गरी उक्त केन्द्रले स्थानीय कच्चा पदार्थको प्रयोगका आधारमा रोजगारी सिर्जना गर्दै नेपाली चिया  निर्यात प्रवद्र्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिएकाले एक लाख रुपैयाँ राशिको पुरस्कार दिने निर्णय गरेको  जनाएको हो । 

कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रले ९५ हेक्टर जमिनमा छ लाखभन्दा बढी चियाका बिरुवाहरूको आयुर्वेदिक–जैविक खेती गरेर वार्षिक एक सय टनभन्दा बढी चिया विदेशमा समेत व्यापार निर्यात गर्दै आएको छ । 

चिया बगान तथा अनुसन्धान केन्द्रले वार्षिक चार करोडभन्दा बढी कारोबार गर्दै मुलुकको अर्थतन्त्रमा योगदान दिएकाले पुरस्कार दिने निर्णय गरेको  फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

 राष्ट्रिय उद्यमशीलतालाई प्रवद्र्धन गर्ने क्षेत्रलाई पुरस्कृत गर्ने क्रममा छनोट समितिको मूल्याङ्कन र सिफारिसका आधारमा पुरस्कार चयन गरिएको अध्यक्ष पाण्डेले जानकारी गराउनुभयो । 

पुरस्कार चयनका लागि डा.रामशरण प्याकुरेलको संयोजकत्वमा सरकारी र निजी क्षेत्रका प्रतिनिधि रहेको एक सिफारिस समिति गठन गरिएको थियो । 

उक्त पुरस्कार यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा वितरण गरिने मदन भण्डारी फाउण्डेशनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button