तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा बकर इदको उल्लास, नेपालगन्जमा सामूहिक नमाज (फोटोफिचर)

नेपालगन्ज। इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद उल अजहा) आज बाँकेमा पनि धूमधामसँग मनाइँदैछ । बाँकेमा बकर इदको विशेष उल्लास देखिएको छ ।

इदको अवसरमा इस्लाम धर्मावलम्बीले नेपालगन्ज विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढेर आपसमा अंकमाल गरी शुभकामना आदानप्रदान गरेका छन् । इदगाहमा नअटेपछि सडकमै बसेर समेत नमाज पढिएको छ । नमाजपछि देशमा शान्ति, समृद्धि र सद्भावका लागि विशेष प्रार्थना गरिएको मुस्लिम धार्मिक गुरुहरूले बताएका छन् । उच्च गर्मीलाई मध्यनजर गर्दै विभिन्न सङ्घसंस्थाले इदगाह स्थलमा पिउने पानीको व्यवस्था गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले पानीको व्यवस्था गरेको अध्यक्ष टंक बहादुर धामीले बताउनुभयो ।

अन्य समुदायका व्यक्तिहरूले पनि इदगाह पुगेर शुभकामना साटासाट गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, प्रहरी प्रमुख तुल बहादुर कार्की लगायत इदगाहस्थल पुगेका छन् । नगरका अन्य मस्जिदमा पनि नमाज पढिएको छ । बाँकेमा मुस्लिम समुदायको बाक्लो बसोबास छ । यहाँ इदको विशेष रौनक हुन्छ ।

बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवार, एक आफ्ना इष्टमित्र र अर्को भाग आफूले खानुपर्ने धार्मिक मान्यता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button