तपाईँ सुन्दै हुनुहुन्छः

नाग्म–गमगढी सडक डेढ दशकपछि कालोपत्रे

जुम्ला । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारालाल जाने र मुगु जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने नाग्म–गमगढी सडक कालोपत्रे भएको छ । सडक सञ्चालनको करिब डेढ दशकपछि कालोपत्रे भएको हो । 

कुल ९३ किलोमिटर दुरी रहेको नाग्म–गमगढी सडकको ६ किमी कालोपत्रे भएको हो । नेपाली सेनाले ट्रयाक खोलेर २०६५/६६ सालदेखि सञ्चालनमा आएको नाग्म–गमगढी सडक डेढ दशकपछि ६ किलोमिटर सडक कालोपत्रे भएको छ । नाग्म–गमगढी सडकअन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा पर्ने कनकासुन्दरी–७ रोकायाबाडा गाउँदेखि वडा न-२ बोता गाउँसम्म ६ किमी सडक कालोपत्रे भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।

सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर घर्तीमगरले महावु हुँदै नाग्म–गमगढी सडक निर्माणको ठेक्काअन्तर्गत ३५ करोड लगानीभित्र ६ किमी सडक कालोपत्रे भइरहेको बताए । रोकायाबाडा,गुरुचौर,गोठिज्युला हुँदै हाँटसिंजा सम्म कालोपत्रे भइसकेको छ । कालोपत्रेदेखि नाग्म–गमगढी सडकको अन्य निर्माणको ठेक्का (थोदुङ बासना जेभी) निर्माण कम्पनीले लिएको छ । जुम्लाबाट निर्वाचित सांसदहरुले नाग्म–गमगढी सडकलाई कालोपत्रे गर्ने भन्दै बाचा गरेपनि पर्याप्त बजेट भने हाल सम्म आउन सकेको छैन । 

सडक डिभिजनले  महावु–नाग्म–गमगढी सडक स्तरोन्नति अन्तर्गतको बजेटबाट यो वर्ष ६ किमी सडक कालोपत्रे गरिरहेको छ । ३२ किमी रोकाया बाडादेखि ३८ किमी बोतासम्म बीचको ६ किमी कालोपत्रे गर्ने योजना छ ।

सरकारले आगामी आवमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर रारा ताल जाने पर्यटकले सडक सुधार र बास व्यवस्थापनमा लगानी हुनु पर्ने सुझाव दिँदै आएका छन् । तर कर्णाली राजमार्ग र नाग्म–गमगढी हरेक वर्ष बजेटको उपेक्षामा पर्दै आएको छ । हाल सम्म नाग्म गमगढी सडकलाई कालोपत्रेका लागि संघीय सरकारले ठोस बजेट विनियोजन गर्न सकेको छैन । सडक डिभिजनले पटक पटक माग गरे पनि सुनुवाइ भएको छैन । 

तर सडक डिभिजनले अर्कै ठेक्का मार्फत पहिलो चरणमा ६ किमी सडक कालोपत्रे रंगरोगन गरेपछि रारा आउने पर्यटक सँगै स्थानीयहरू पनि उत्साहित भएका छन् । स्तरबृद्धि नहुँदा वर्षौँदेखि धुलो र हिलोको सास्ती खेप्दै आएकोमा हाल थोरै भएपनि कालोपत्रे हुँदा विकासको अनुभूति भएको कनकासुन्दरीका स्थानीय दिपेन्द्र उपाध्यायले बताउनुभयो । कालोपत्रे भएको सडक खण्डमा पर्यटकहरू रोकिएर फोटो समेत खिचाउँछन् । भने कर्णाली राजमार्गको जोखिम मोलेर रारा नजिक पुग्ने बेला कालोपत्रे दुई लेनको सडक देख्दा सबै पर्यटक मक्ख छन् ।

नाग्म–गमगढी सडकको प्रस्थान विन्दुबाटै कालोपत्रे हुनु पर्ने सुझाव छ । बजेट अभावले सडक कालोपत्रेमा समस्या छ । वर्षौँदेखि हिलाम्य र धुलाम्य सडकमा यात्रा गर्न बाध्य पर्यटक तथा स्थानीयलाई ६ किमी सडक कालोपत्रे हुँदा विगतको भन्दा केही राहत पुग्ने सडक डिभिजन जुम्लाका निमित्त प्रमुख चेतन कुमार मण्डलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button