तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागिगृहले पठायो १८ जिल्लामा उपसचिव

काठमाडौँ।  राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्नका लागि गृह मन्त्रालयले पाँच जना उपसचिवहरुको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटाउने निर्णय गरेको छ । 

मन्त्रालयमा हालै सरुवा भई आएसँगै पदस्थापनका क्रममा रहेका उपसचिवहरुलाई मन्त्रालयले राष्ट्रिय परिचपत्रलगायतका सेवा प्रवाहमा सहजीकरण गर्नका लागि भन्दै उहाँहरुलाई देशका विभिन्न १८ जिल्लामा खटाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सहजीकरणका लागि उपसचिव ओमप्रसाद भट्टराईलाई सप्तरी, सिराहा, धनुषा, महोत्तरी, उपसचिव चोमेन्द्र न्यौपानेलाई सिन्धुली, मकवानपुर, चितवन, उपसचिव परमानन्द घिमिरेलाई रुपन्देही, कपिलवस्तु, दाङ, उपसचिव उमाकान्त अधिकारीलाई बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र उपसचिव टिकाराम ढकाललाई बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा खटाइएको छ ।”

गृहसचिव एकनारायण अर्यालको सचिवस्तरीय निर्णयबाट उहाँहरुलाई जिल्लामा खटाइएको हो । सम्बन्धित जिल्लाहरुमा खटिएका उपसचिवहरुले आफू खटिएको जिल्लाको कार्यालयबाट प्रवाह हुने सेवामा आवश्यक सहजीकरण गर्नुपर्ने भएको प्रवक्ता एवं सहसचिव भट्टराईले बताउनुभयो । 

“सामाजिक सुरक्षा भत्ता लिँदा समेत राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएपछि अहिले जिल्लामा सेवाग्राहीको भीड बढेको छ”, उहाँले भन्नुभयो, “उहाँहरुले राष्ट्रिय परिचयपत्रको सेवाप्रभावमा सहजी करण गर्नुहुनेछ ।”

जिल्ला प्रशासन कार्यालयहरुले प्रदान गर्दै आएका सार्वजनिक सेवा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीका लागि सिफारिस, मुद्दा दर्ता र फछ्यौटलगायतका प्रशासनिक कामहरु सम्पादन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयहरुमा सेवाग्राहीको अत्यधिक भिडभाड हुन गई समग्र कार्यालयको काम कारवाही व्यवस्थापन गर्न समस्या परिरहेको भन्ने गुनासोहरु आएपछि उपसचिवहरुलाई सहजीकरणका लागि जिल्लामा खटाइएको गृहसचिव एकनारायण अर्यालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसले जिल्लामा पनि केही सहज हुन्छ, त्यहाँका वस्तुस्थितीबारे मन्त्रालयमा समेत विवरण आउँछ, सेवाग्राहीसहित कर्मचारीका लागि पनि यो राम्रो अवसर हुनेछ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button