तपाईँ सुन्दै हुनुहुन्छः

बक्र ईदमा राँगा र खसीको मूल्य उच्च

बाँके । मुस्लिम समुदायको दोस्रो ठूलो चाड बक्र ईद (उल–अजहा) मा राँगा र खसीको माग बढेको छ । सो चाडमा अहिले राँगा र खसी किन्ने प्रतिस्पर्धा चलेको छ । बक्र ईद (उल–अजहा) मा खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदिलाई कुर्वानी स्वरूप बली दिने चलन छ । बक्र ईद  पर्वले जिल्लामा राँगा र खसीको मूल्य उच्च भएको व्यापारीहरू बताउँछन् । यही असार ३ गते गते बक्र ईद  मनाइँदैछ ।

मुस्लिम समुदायले (उल–अजहा) अर्थात् बक्र ईद मा खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँटको कुर्वानी (बली) दिने चलन रहेकोले अहिले जिल्लामा राँगा र खसी किन्ने प्रतिस्पर्धा नै चलेको हो । राँगाको कारोबार समेत बढेको यो पर्वमा मोलमोलाइ गर्ने चलन नभएको मुस्लिम अगुवाहरू बताउँछन् । जिल्लामा एउटा राँगाको ३० हजार देखि एक लाख र खसीको १० हजारदेखि ८० हजारसम्मको खरिद गर्ने गरेको पाइएको छ ।

बाँकेको एक मात्र राँगा बिक्री हुने रम्भा पुर बजारमा आज शनिबार कुरबानीका लागि राँगा किन्नेहरूको बाक्लो भिड लागेको थियो । इस्लामी संघ नेपालले बाँकेमा दुई सय राँगा खरिद गरेको बताउँदै संघका क्षेत्रीय अध्यक्ष उबेदुर रहमान खानले अविपन्न परिवारलाई राँगाको कुरबानी गरेर मासु वितरण गर्नका लागि उक्त परिणामको राँगा खरिद गरिएको बताउनु भयो । उहाँले बाँकेको हिरमिनिया, खजुर गरी दुई ठाउँमा कुरबानीको सेल्टर निमार्ण गरिएको छ, उक्त सेल्टरहरूमा पुगेका गरिब परिवारलाई कुरबानीको मासु प्रदान गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

देखाउनका लागि महँगो जनावर खरिद गर्नु इस्लाम धर्मको खिलाफ रहेको हकको भनाई थियो । बजारमा महँगो र प्रतिस्पर्धा कै कारण विपन्न, र गरिब मुस्लिमहरू मर्कामा परेका छन् । बजारमा १० हजार घटीका खसी नै पाउन गाह्रो परेको हकले बताउनु भयो । उहाँले भन्नुभयो ‘ जति सानो खसीलाई पनि व्यापारीहरूले १० हजार भन्दा घटीमा बेच्दैनन् ।’

इस्लामी संघ नेपालका अध्यक्ष एवं मुस्लिम धर्म गुरु मौलाना नजरुल हसन फलाहीले बक्र ईदमा १ वर्ष नाघेका, चोट पटक नलागेका, स्वास्थ्य र दुरुस्त खसी चाहिने तथा मोलमोलाइ गर्ने चलन समेत नभएकाले यो पर्वमा खसीको मूल्य आकासिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, २ वर्ष पुरा भई दुई वटा दाँत आएको स्वास्थ्य राँगाको कुरबानी दिने भएकोले विगतको भन्दा यस वर्ष बढी मूल्यमा बिक्री भइरहेको जिकिर गर्नुभयो । बक्र ईदमा अरू समय भन्दा राँगा र खसीको मूल्य तेब्बर र चोब्बर हुने गरेको फलाहीको भनाई थियो । 

बक्र ईद किन मनाउँछन् मुस्लिमहरू

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका समिम मियाँ अन्सारीले बताउनु भयो ।

उहाँले ऐतिहासिक बक्र ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्लाहहो अलाईहेवसल्लमको जन्मले निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नु भएको थियो ।

‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका मोहम्मद ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’मियाँको भनाई थियो ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् ।

यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

मुस्लिम धर्मावलम्बीले असार ३ गते सोमबार देखि बुधवार सम्म तीन दिन यो पर्व मनाउने छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली मौलाना मन्सुर आरफीले जानकारी दिनु भयो । यस अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button