तपाईँ सुन्दै हुनुहुन्छः

हत्या आरोपमा शिक्षिका सहित तीनजना पक्राउ

बैतडी । तीन दिनदेखि बेपत्ता रहेका बैतडीको पाटन नगरपालिका–०६ का ५१ बर्षीय बिरभान सिंह बिष्टको शव पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको छ । 

शव प्लाष्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो सवा दुई बजे फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी दीपक गिरीले जानकारी दिनुभयो । 

बिष्ट असार १ गते शनिबार देखी सम्पर्क विहीन रहेका थिए । उनलाई बेपत्ता पारेको भन्दै बिष्टका आफन्तले इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीय महिला भागरथी बिष्ट विरुद्ध निवेदन दिएका थिए । निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ । उनले चिरपटले हानेर आफूले नै हत्या गरेको बताएकी छन् । 

उनले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी छन् । रातिको समयमा भागरथीको घरमा आएर अपशब्दहरू प्रयोग गरेपछि सहन नसकेर चिरपटले हानेर हत्या गरेको बयान दिएको डिएसपी गिरिले बताउनुभयो । 

मृतक पुरुष र भागरथीको घरमा पहिल्यै देखि आउजाउ रहेको गाउँलेले बताएका छन् । 

एकल महिला समेत रहेकी भागरथी सहस्त्रलिङ्ग प्राविकी राहत शिक्षिका हुन् । उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको हो ।

भागरथीले असार १ गते आफ्नै घरमा बिरभानको हत्या गरेको स्थानीयवासीको भनाई छ । हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र लास लुकाएको र आइतबार राति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ । 

सोमबार भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर शव लगेको छाप देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो । हत्याको कारण भने अझै खुलेको छैन । स्थानीयबासीले दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन् ।

प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माका अनुसार ती पुरुषको हत्यामा अन्य दुई जना सहयोग भएको समेत पाइएको छ । १७ र १८ वर्षका सहयोगी राजेन्द्र भट्टराई र किशोर भट्टराईलाई डडेल्धुराको भात्काडाँबाट पक्राउ गरिएको छ । भागरथीले व्यवस्थापनका लागि सहयोगीलाई २०–३० हजार रुपैयाँ समेत दिएको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button