तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले निर्वाचन अघि गठबन्धन गर्दैन: महामन्त्री शर्मा

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन अघि काँग्रेसले गठबन्धन नगर्ने बताउनुभएको छ ।

आज भक्तपुरको सुर्यबिनायकमा आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिक पुण्य तिथिको अवसरमा आयोजित कार्यक्रममा बोल्नु हुँदै महामन्त्री शर्माले आगामी निर्वाचनमा कांग्रेस एक्लै उभिने बताउनुभयो ।गठबन्धनको अनुभव गरिएको भन्दै जित हारलाई छाडेर एक्लै उभिने भन्ने मनोविज्ञान महासमितिबाट पारित गरिसकेको बताउँदै उहाँले चुनाव अघिको गठबन्धनका पक्षमा कांग्रेस नरहेको बताउनुभयो ।

महामन्त्री शर्माले कांग्रेस आफैँमा तरोताजा भएर आफ्नै साथीसँग मिलेर र साथीको विश्वास जितेर अरुसँग लड्ने बताउनुभयो । शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो । नेपाल कहिल्यै बन्दैन भन्ने मनोविज्ञान छोडेर यहाँ केही भएको छ अझै धेरै गर्न बाँकी छ भनेर र यो सतीको सराप परेको होइन भगवान् गौतम बुद्धको आशीर्वाद पाएको देश हो भन्ने दृढता राखेर अगि बढ्नुपर्ने उहाँको भनाई थियो ।

महामन्त्री शर्माले गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्ने गरी कानुन बनाउँदा काँग्रेसले संशोधन हालेको बताउनुभयो । गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको विषय सार्वजनिक भएपछि काँग्रेसले संसदमा यो विषय टुङ्गोमा पुर्‍याउन र सर्वसाधारणको सहकारीमा डुबेको बचत फिर्ता होस् भनेर आवाज उठाएको बताउनुभयो । काँग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास रहेको बताउँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रमा मात्र नभई तल पनि बदलिनुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा हरेक राजनीतिक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको बताउँदै उहाँले मुलुक काँग्रेसले विश्वास गरेको पद्धतिमा चलिरहेको बताउनुभयो । कार्यक्रममा संघीय सांसद तथा जिल्ला सभापति दुर्लभ थापा,केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ,चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री,सहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानका अध्यक्ष रजनी जोन्छें ,नेताहरू गणेशमान चक्रधर ,तिलकप्रकाश कायस्थ,बाबुराजा जोशी,जगन्नाथ कार्की लगायतले जोन्छेको योगदानको चर्चा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button