तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार 

पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । विश्वासको मत प्राप्त गरेको भोलि पल्ट आज (मङ्गलवार) मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्रीलाई नियुक्त गरेसँगै मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।

नवनियुक्त मन्त्री द्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले मङ्गलवार नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्टले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा  राजीव गुरुङलाई भौतिक ,पूर्वाधार तथा यातायात  मन्त्री र फणीन्द्र देवकोटालाई ऊर्जा जलश्रोत  तथा खानेपानी मन्त्रीको सपथ खुवाउनु भएको हो ।

देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नु भएको हो ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई सोमबार फ्लोर क्रस गरी विश्वासको मत दिनु भएको थियो ।

फणिन्द्र अहिले माओवादी कोटाबाटै संसद्को सामाजिक विकास समिति सभापति हुनु हुन्छ । माओवादी चुनाव चिह्नबाट चुनाव लडेर जित्नु भएको उहाँले पाण्डे नेतृत्वलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएकोले पहिलो पटक मन्त्री बन्नु भएको हो । मनाङे गण्डकीमा छैटौँ पटक मन्त्री हुनु भएको हो । यस अघि उहाँ दुई पटक भौतिक र ३ पटक खेलकुद मन्त्री हुनु भएको छ ।

सर्वोच्च अदालतले ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएपछि नेपाली कांग्रेसका नेता पाण्डे जेठ १६गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । यस अघि नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुनु भएको थियो । अधिकारीले सभामुख सहितको ३१ मतमा विश्वासको मत लिएर मुख्यमन्त्री नियुक्त भए पछि सर्वोच्चले उक्त निर्णय बदर गरिदिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button