तपाईँ सुन्दै हुनुहुन्छः

  प्रथम राष्ट्रिय कानुन शिक्षा सम्बन्धी सङ्गोष्ठी सम्पन्न 

भक्तपुर । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सङ्गोष्ठी २०८१’ कानुनी शिक्षाका चुनौती चिर्न सक्रियताको आव्हान गर्ने लगायत ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

भक्तपुरको दधिकोटस्थित काठमाडौँ स्कुल अफ लको सभाहलमा भएको दुई दिने सम्मेलनले कानुनी शिक्षामा देखा परेका समसामयिक चुनौतीको पहिचान गरी सो को समाधानका लागि सम्बन्धित नियमनकारी निकायहरूसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।

सहभागीहरूबाट सामूहिक प्रतिबद्धतासहित जारी गरिएको घोषणापत्रमा कानुन शिक्षाको क्रमबद्ध विकासको लागि नेपाल सरकार तथा सबै नियमनकारी निकायहरूको ध्यानाकर्षण गर्दै ती निकायहरूबाट कानुन शिक्षा उन्नयनका लागि सक्रियताको लागि आव्हान गर्ने उल्लेख छ ।

नेपालको कानुन शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने र कानुनी शिक्षा पद्धतिमा विशिष्टीकृत तरिकाको प्रयोग गर्ने समेत निर्णय भएको काठमाडौँ स्कुल अफ ल का कार्यकारी निर्देशक प्रा.डा. युवराज सङ्ग्रौलाले बताउनुभयो ।

कानुन अध्यापन गर्ने विभिन्न विश्वविद्यालय र कानुन कलेजहरूबिच अध्ययन र अनुसन्धानका सम्बन्धमा शिक्षक एवं विद्यार्थीको सह आदान प्रदानको प्रवर्द्धन गरी प्राज्ञिक सहकार्यको वातावरण निर्माण गर्ने निर्णय भएको काठमाडौँ स्कुल अफ लका अनुसन्धान विभाग संयोजक प्रदीप पाठकले बताउनुभयो ।

विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा देवराज अधिकारीले उद्घाटन गर्नुभएको कार्यक्रममा देशभरका कानुनी क्षेत्रका विभिन्न विज्ञबिच छलफल भएको थियो ।

सम्मेलनमा १३ विश्वविद्यालयको सहभागिता रहेको र कानुन अध्ययन भइरहेका सबै क्याम्पसका दुई÷दुई जना विद्यार्थी र शिक्षकले ५० वटा कार्यपत्र प्रस्तुत गर्नुका साथै  कानुनको पाठ्यक्रम परिमार्जन गर्न दुई दिनको छलफलले महत्वपूर्ण योगदान गर्ने विश्वास काठमाडौँ स्कुल अफ ल का कार्यकारी निर्देशक सङ्ग्रौलाले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button