तपाईँ सुन्दै हुनुहुन्छः

नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज छिचोलिंदै

सङ्खुवासभा। संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संखुवासभा आउनु हुने भएको छ ।

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम ७० प्रतिशत बढी काम सकिएको छ । आज प्रधानमन्त्रीले अरुण तेस्रोको एक समारोहबीच ब्रेक थ्रु गर्ने कार्यक्रम तय भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो ।

अरुण तेस्रोको ब्रेक थ्रु गर्न प्रधानमन्त्री प्रचण्डले गर्ने निश्चित भइसकेको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन)ले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले अरुण तेस्रोको ड्यामसाइट र पावारहाउसको हेलिकोप्टरबाटै अनुगमनसमेत गर्ने कार्यक्रम छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको ब्रेक थ्रु गरिने भएको हो ।

फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङको लम्बाइ ११.८३७ किलोमिटर छ । सो सुरुङ छिचोलिएकाले ब्रेक थ्रु गरिने भएको हो । प्रधानमन्त्री प्रचण्ड आज बिहान १० बजे आमराङमा अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी हेलिकोप्टरमार्फत पावरहाउस स्थल चिचिला गाउँपालिकाको पुखुवाको कार्यक्रममा सहभागी हुने कार्यक्रमम रहेको छ ।

परियोजनामा कुनै अवरोध नभएमा अबको करिब एक वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ ।

परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई शेयर बितरण गर्ने पिडिएमा उल्लेख गरिएको छ । करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत प्राप्त हुने छ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्ने छ ।

विद्युत उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख छ । अरुण तेस्रो परियोजनामा नेपाली भारतिय सहित झन्डै चार हजार कामदार कार्यरत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button