तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा सहमतिको सरकार बनाउने विषयमा प्रदेश  प्रमुख शेरचनलाई जानकारी पत्र

रुपन्देही । नेकपा एमालेले लुम्बिनीमा सहमतिको सरकार बनाउने विषय प्रदेश प्रमुख अमिक शेरचनलाई जानकारी गराएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएपछि त्यसको औपचारिक जानकारी गराउँदै नेकपा एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बुटवलस्थित लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा औपचारिक जानकारी गराउनुभएको हो । चौधरीले मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेबाट मन्त्री भएका सबैले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई जानकारी पत्र बुझाएको बताउनुभयो ।

प्रमुख सचेतक चौधरीले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन प्रदेश प्रमुखको कार्यालयलाई आग्रह गरिएको बताउनुभयो । प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश, बुटवल मुकामका उपसचिव धर्मा अर्यालले जानकारी पत्र बुझ्नुहुँदै प्रदेश प्रमुखको संवैधानिक निर्देशन अनुरुप आवश्यक कागजात तयार पारिने बताउनुभयो । प्रदेश प्रमुख शेरचन औषधोपचारका लागि केही दिनदेखि काठमाडौँमा रहेको उनका स्वकीय सचिव बसन्त भट्टचनले जानकारी दिनुभयो।

एमालेले असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई राजीनामा दिन लगाएको थियो । सोही अनुरुप मन्त्रीहरू चेतनारायण आचार्य,  भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्नबहादुर खत्री, अर्जुन केसीले असार २० गते बेलुका राजीनामा दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button