तपाईँ सुन्दै हुनुहुन्छः

‘बुवा आमाका निम्ति कमाइको १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरिँदै’

भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ज्येष्ठ नागरिक ऐनमा सन्तानले आफ्नो बुवा आमाका निम्ति आफ्नो कमाइको १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरिएको बताउनुभएको छ ।

आज सामुदायिक विकास तथा सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको २० औँ स्थापना दिवस एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रममा मन्त्री चौधरीले यससम्बन्धी नियमावली छिट्टै आउने बताउनुभयो ।

ज्येष्ठ नागरिक नियमावली संशोधन गर्न हिजो बसेको विधेयक समितिले पारित गरेको बताउँदै उहाँले अब संसदबाट ज्येष्ठ नागरिक नियमावली प्रथम संशोधन २०८१ जारी हुने बताउनुभयो ।

मन्त्री चौधरीले संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउनुहुने विश्वास ब्यक्त गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकको अनुभव साट्ने थलोको रूपमा विकास गर्न सबै पालिकामा ज्येष्ठ नागरिक दिवा केन्द्र र ज्येष्ठ नागरिकले अपहेलित जीवन गुजार्न नपरोस् भनेर प्रत्येक पालिकामा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने तयारी गरेको बताउनुभयो ।

अहिले पनि महिलाहरू विभिन्न ठाउँमा हिंसाको सिकार हुने गरेको भन्दै यो कुराले समाजको छविलाई राम्रो नगर्ने बताउनुभयो । यस्ता गलत कार्यको अन्त्य गर्न समाजमा रहेका सबैको योगदान हुनुपर्ने भन्दै कतिपय कुरीतिजन्य मान्यताहरू पनि हटाउँदै लैजान आवश्यक रहेको बताउनुभयो ।

मन्त्री चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताउनुभयो ।

केन्द्रका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, बागमती प्रदेश सभाका सदस्य धनेश्वरी प्रजापति, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दीपक थापा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ लगायतले सामुदायिक सेवा भावले संस्थाहरू अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button