तपाईँ सुन्दै हुनुहुन्छः

तीन वर्षदेखि थन्किए सल्यान अस्पतालमा भेन्टिलेटर मेसिन

सल्यान । सल्यान जिल्ला अस्पतालमा विगत तीन वर्षदेखि करोडौँमा किनेको भेन्टिलेटर मेसिन प्रयोग विहीन भएको छ । दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा  अस्पतालमा एक करोड बढी खर्चेर किनेको मेसिन तीन वर्षदेखि थन्किएको छ । 

कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताउनु भयो ।

कर्णाली प्रदेश सरकारले २०७६/०७७ मा २ करोड ५८ लाख बजेटबाट ६ शैय्याको भेन्टिलेटर र १४ शैय्याको आइसियु सञ्चालन गर्नको लागि मेसिन तथा बेड खरिद गरेको थियो । आईसियू सेवा सञ्चालन नभए पनि बेड भने प्रयोगमा आइरहेको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘भेन्टिलेटर सेवा सञ्चालनका लागि विशेषज्ञ डाक्टरसहितको दक्ष टिम चाहिन्छ । दक्ष जनशक्ति भए आइसियु सञ्चालनमा ल्याउन सकिन्छ । अहिलेसम्म आइसियु सञ्चालनमा ल्याउन सकिएको छैन कसरी भेन्टिलेटर सेवा सञ्चालन गर्नु ? खरिद गरेका उपकरण प्रयोगमा आउन नसकी थन्किएका छन् ।’

२०४४ सालमा स्थापना भएको १५ शैय्याको अस्पतालले आफ्नै प्रयासले अहिले ४० शैय्याको व्यवस्था गरेर बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालका एमडिजिपी डा. अभिषेक सिंहले आइसियु तथा भेन्टिलेटर सेवा सञ्चालनमा ल्याउन नसक्दा गम्भीर खालका बिरामीलाई नेपालगन्ज पठाउनु पर्ने बाध्यता रहेको बताउनु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button