तपाईँ सुन्दै हुनुहुन्छः

कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप उपचारका लागि काठमाडौँ लगियो

जनकपुरधाम । नागरिकता सम्बन्धि कसुरमा धनुषा जिल्ला अदालतको आदेशमा पक्राउ परेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश प्रसाद सिरोहियाको स्वास्थ्यमा जटिलता देखिएपछि आज काठमाडौँ रेफर गरिएको छ । 

जनकपुरधामको काव्या अस्पतालमा उपचारका लागि भर्ना रहेका सिरोहियालाई थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पतालमा रेफर गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनु भएको छ । 

तेस्रो पटक धनुषा अदालतको आदेशमा प्रहरीलाई थप अनुसन्धानका लागि तीन दिनका लागि म्याद थप गरिएका सिरोहियालाई अदालतबाट सोझै काव्या अस्पतालको एम्बुलेन्सबाट अस्पतालमा नै पुर्‍याउने काम भएको थियो । 

उच्च रक्तचाप तथा मधुमेहले पीडित रहेका सिरोहियालाई चिकित्सकको सिफारिसमा हेलिकप्टरबाट काठमाडौँ लाने काम भएको धनुषाका प्रहरी नायव उपरीक्षक अवाले जानकारी दिनु भयो । गत जेठ ८ गते कान्तिपुर मिडिया समूहको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सिरोहियालाई पक्राउ गरेर बुधवार धनुषा जिल्ला अदालतमा प्रहरीले पेश गरेको थियो । 

दोस्रो पटक म्याद थप गरेपछि सिरोहियालाई तनाव भएर बिरामी परेपछि अस्पतालमा भर्ना भएका थिए । तेस्रो पटक म्याद थप भएपछि सिरोहियालाई थप उपचारका लागि काठमाडौँ लगिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button