तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयता कार्यान्वयनमा संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय आवश्यक

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीयताको प्रवद्र्धन र कार्यान्वयनमा संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनु भएको छ । 

मन्त्रालयले विराटनगरमा आज आयोजना गरेको सङ्घीयता लोकतन्त्र र कानुनी शासन विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेश र स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रदेश र स्थानीय तहलाई अप्ठ्यारो नहुनेगरि कर्मचारी व्यवस्थापन हुने उहाँको भनाई थियो । निजामती कर्मचारी सेवा ऐन चाडै ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुलुकभरका ७ सय ५३ पालिकाका जनप्रतिनिधि तथा सातवटै प्रदेशका मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालय तथा प्रदेश मन्त्रालय बीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाई थियो ।

मन्त्रालयले एउटा कर्मचारीलाई सरुवा गर्दा अर्को कर्मचारीको गुनासो आउने गरेको उहाँको भनाई थियो ।  कर्मचारी सरुवाका विषयलाई सामान्य रुपमा लिन समेत उहाँले आग्रह गर्नुभयो ।

मन्त्री जोशीले लोकतन्त्रमा आलोचना र गुनासाहरू आउनु स्वाभाविक भएकाले आलोचना र गुनासालाई आफूले सुझावको रुपमा लिँदै  काम गरिरहेको बताउनुभयो । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानले दिएको अधिकार प्रत्यायोजन गर्दै प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय तहको अधिकारको क्षेत्रमा बन्देज लगाएर सङ्घीयता बलियो नहुने बताउनुभयो ।

प्रदेश मन्त्रालयका सचिवहरूले पूरा अवधि काम गर्न नपाउने र काम गरिरहेको सचिवहरूलाई पुरा अवधि नहुँदै सङ्घले सरुवा गर्ने प्रवृत्ति मन्त्रालयको काममा समस्या हुने गरेको उहाँको भनाई थियो ।  प्रदेशमा कर्मचारी साथै बजेटको अभाव र वित्तीय हस्तान्तरण समयमा नहुँदा काम गर्न समस्या हुने गरेकाले  त्यसतर्फ सङ्घीय सरकारको ध्यान जानु आवश्यक रहेको उहाँले बताउनुभयो  । 

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य डा खिमलाल देवकोटाले सङ्घीयता लोकतन्त्र तथा कानुनी शासनका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ जिल्लाका संघ तथा प्रदेश मातहतका सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुख उपप्रमुखको सहभागिता थियो । मन्त्रालयका महाशाखा प्रमुख सुमन दाहालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button