तपाईँ सुन्दै हुनुहुन्छः

टुङ्गो लागेन सहकारी प्रकरण छानविन समितिको कार्यादेशको विषय 

काठमाडौँ । सहकारी प्रकरणका बारेमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुङ्ग्याउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबिच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा सहकारी प्रकरण छानविन समितिको कार्यादेशको विषय नटुङ्गिएको नेपाली कांग्रेसका सह महामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।

आज साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिरहेको भएपनि समितिको कार्यादेशमा काँग्रेसले राखेको प्रस्तावमा सत्ता गठबन्धनकै अन्य दल सकारात्मक नदेखिएपछि सहमति हुन नसकेको परियारले दाबी गर्नुभयो । 

काँग्रेससँगको छलफलपछि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेस कुनै सहमतिको पक्षमा नरहेको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले नेपाली काँग्रेसले अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको तथा एमाले र एमालेका अध्यक्षविरुद्ध लगाएको आधारहीन लाञ्छनाप्रति माफी माग्नुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्यकाका लागि सत्ता पक्ष र प्रतिपक्षको बैठक बोलाउनु भएको थियो । बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति हुन नसकेपछि दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । दुवै पक्षबीच आजै साँझसम्म फेरि छलफल हुने भएको छ ।

संसद्को भोली बस्ने बैठकमा सरकारको आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको । संवैधानिक व्यवस्था अनुसार जेठ १५ अर्थात् भोली सरकारले संसदमा बजेट प्रस्तुत गर्नै पर्ने बाध्यात्मक अवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button