तपाईँ सुन्दै हुनुहुन्छः

कीर्तिमानी आरोही फुञ्जो लामाको स्वागत

काठमाडौँ । पन्ध्र घण्टाभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । 

आरोही फुञ्जोले यही जेठ १० गते बिहान सगरमाथा शिखरमा पुगेर सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान कायम गर्नुभएको हो । उहाँ २४ घण्टा २४ मिनेटमा आधार शिविरबाट चुचुरोमा पुग्न र त्यहाँबाट आधार शिविरमा ओर्लेर कीर्तिमान कायम गर्न सफल हुनुभएको हो । 

 विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार उहाँले १४ घण्टा ३१ मिनेटमा शिखर चुम्नुभएको हो । सन् २०१८ मा उहाँले ३९ घण्टा छ मिनेटमा शिखरमा पुग्नुभएको थियो । सन् २०२१ मा हङ्कङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा शिखरमा पुगेर उहाँको कीर्तिमान भङ्ग गर्नुभएको थियो । 

विसं २०४३ मा गोरखाको छेकम्पार बुर्जीगाउँ (चुम भ्याली)मा सामान्य परिवारमा जन्मेकी फुन्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल चढेर आरोहण यात्रा प्रारम्भ गर्नुभएकी उहाँले चोयु, आमाडब्लम, लापुछे, मनासलुको सफल आरोहण गर्नुभएको छ । उहाँले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसक्नुभएको छ ।

आरोही  फुञ्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई  उद्धार गर्दै आउनुभएको छ । उहाँले सोलुखुम्बुको खुम्बु  र गोरखाको मनास्लु क्षेत्रमा केन्द्रित रहेर उद्धार गर्दै आउनुभएको छ । 

सगरमाथा आरोही सङ्घका महासचिव सापकोटाले फुञ्जोले कायम गरेको कीर्तिमानबाट विश्वभरका महिला आरोहीलाई प्रेरणा मिलेको तथा त्यसले देशको साहसिक पर्यटन विश्वबजारमा प्रवर्द्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।  

विमानस्थलमा उहाँलाई पर्वतारोही, पर्यटन व्यवसायी, सगरमाथा आरोही सङ्घका पदाधिकारी सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी  कार्यालयका प्रमुख सम्पर्क अधिकृत लगायत साहसिक पर्यटन क्षेत्रका अगुवाले स्वागत गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button