तपाईँ सुन्दै हुनुहुन्छः

रारा गोल्डकप : आयोजक सेमिफाइनलमा

धनकुटा । धनकुटामा राजारानीमा जारी सहिद रारा गोल्डकपको ११ औँ संस्करणको तेस्रो दिनमा भएको खेलमा आयोजक रारा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

रारा फुटबल क्लब रारा गोल्डकपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ । शनिबार भएको खेलमा भोजपुर फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै आयोजक रारा फुटबल क्लब सेमिफाइनल पुगेको हो ।

खेलको १९ औँ र ४८ औँ मिनेटमा निशान लिम्बूले गोल गर्दै भोजपुरलाई २–० गोलको अग्रता दिलाए पनि खेलको ६६ औँ मिनेटमा राराका विदेशी खेलाडी ग्लोरीले गोल गर्दै खेल २–१ गोलको अवस्थामा पुर्‍याउनुभयो । खेलको ८१ औँ मिनेटमा राराका राम वाजीले गोल गर्दै खेल २–२ बराबरीमा ल्याउनुभयो । यस्तै खेलको ८९ औँ मिनेटमा राराका नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई ३–२ अग्रता दिलाउँदै टिमलाई जित दिलाउनुभयो ।

खेलको ८५ औँ मिनेटमा राराका विशाल घलान र भोजपुरका रोजिन माझीले झगडा गरेपछि रातो कार्ड पाएर बाहिरिएपछि दुवै टिम १० खेलाडीमा सीमित भयो ।

खेलको प्लेयर अफ द म्याच राराका राम वाजी घोषित हुनुभयो । उहाँले नगद ७ हजार रुपैयाँ र ट्रफि पुरस्कार पाउनुभयो ।

प्रतियोगिता अन्तरगत आइतबार सलहेश युथ क्लब सिराहा र गोल्डेन युथ क्लब सुनसरीबिच पहिलो चरणको अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

शुक्रबार भएको खेलमा रियल स्टार युथ क्लब हेटौँडालाई हराउँदै विर्तामोड युनाइटेड क्लब झापा सेमिफाइनल पुगेको छ भने डाँडाबजार युथ क्लब धनकुटालाई हराउँदै मोरङको डाँगिहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आगामी १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ ।

सबैभन्दा बढी गोलकर्ता, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउन आयोजक समितिका संयोजक चेम्जोङले जानकारी दिनुभयो । गत वर्ष भएको १० औँ संस्करणमा विजेतालाई तीन लाख र उपविजेतालाई डेढ लाख पुरस्कार प्रदान गरिएको थियो । रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button