तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

झापा । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व सङ्कलन गरेको छ ।

नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा रु एक करोड १६ लाख ७२ हजार आठ सय २९ रकम बढी राजस्व सङ्कलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताउनुभयो । उहाँका अनुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले रु तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ राजस्व सङ्कलन गरेको थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

पूँजीगत खर्च घट्यो
भद्रपुर नगरपालिकाले चालु आवको १० महिनामा रु ५१ करोड ७० लाख ५४ हजार छ सय ६९ खर्च गरेको छ । नगरपालिकाको कुल बजेटको ५२ दशमलव ६३ प्रतिशत खर्च गर्दा पुँजीगतको तुलनामा चालुतर्फ बढी खर्च भएको छ । भद्रपुर नगरपालिकाको चालु आवको १० महिनामा पुँजीगततर्फ ३७ दशमलव ६४ प्रतिशत खर्च भएको छ । चालुतर्फ ६३ दशमलव ०२ प्रतिशत खर्च भएको नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

भद्रपुर नगरपालिकाको चालु आवको बजेट संशोधनसहित रु ९८ करोड २३ लाख ४६ हजार रहेको छ । चालु आवको १० महिनामा गत आवको सोही अवधिको तुलनामा समग्रमा खर्च प्रतिशत दुई दशमलव ११ प्रतिशतले बढे पनि पुँजीगततर्फ एक प्रतिशतले खर्च घटेको नगरपालिकाले जनाएको छ । गत आवको सोही अवधिमा खर्च प्रतिशत ५० दशमलव ५२ रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button