तपाईँ सुन्दै हुनुहुन्छः

रारा गोल्डकप: आयोजक रारा फुटबल क्लब र भोजपुर फुटबल संघ भिड्दै

धनकुटा। धनकुटाको राजारानीमा जारी १०औँ संस्करणको रारा गोल्डकप अन्तर्गत शनिबार आयोजक रारा फुटबल क्लब र भोजपुर फुटबल संघबिच खेल हुँदै छ । उक्त खेल धनकुटाको चौबिसे गाउँपालिका ६ राजा रानी खेलमैदानमा दिनको ३ बजेबाट शुरु हुने आयोजकले जनाएको छ । यो खेल पहिलो चरणको तेस्रो खेल रहेको र आइतबार पहिलो चरणको अन्तिम खेल हुने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिनुभयो ।

यसअघि शुक्रबार भएको खेलमा रियल स्टार युथ क्लब हेटौँडालाई ० का विरुद्ध ४ गोलले पराजित गर्दै विर्तामोड युनाइटेड क्लब झापा सेमिफाइनल पुगेको छ । यस्तै डाँडा बजार युथ क्लब धनकुटालाई ५–१ गोलले पराजित गर्दै मोरङको डाँगिहाट युथ क्लब दोस्रो चरणमा अर्थात् सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै आइतबार सलहेश युथ क्लब सिराहा र गोल्डेन युथ क्लब सुनसरीबिच प्रतिस्पर्धा हुनेछ । आगामी सोमबार र मङ्गलवार सेमिफाइनलका खेल हुने र बुधबार फाइनल खेल हुने आयोजकले जनाएको छ।

आगामी १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने  संयोजक  चेम्जोङले जानकारी दिएका छन् । गत वर्ष भएको १०औँ संस्करणमा विजेतालाई तीन लाख र उप विजेतालाई डेढ लाख पुरस्कार प्रदान गरिएको थियो । 

धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप २०५८ सालबाट सञ्चालन गर्न थालिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button