तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न

वीरगञ्ज । दुई देशको उद्योग व्यापारको विस्तार गर्ने उद्देश्यका साथ वीरगञ्जमा नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन २०२४ सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश एवं पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री दिल्ली भारतको संयुक्त आयोजना तथा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहकार्यमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा नेपाल–भारतबीच हुने व्यापार तथा पारवहनको विषयमा दुवै देशका व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा छलफल हुनुका साथै समस्याहरू समाधानका लागि नेपाल र भारतका सरोकारवाला निकायले पहल गर्नुपर्ने कुरामा वक्ताहरूले जोड दिनुभएको थियो ।

सम्मेलनले २१ बुँदे वीरगञ्ज घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रमा नेपाली व्यवसायीहरूले भोग्नुपरेका समस्या सम्बोधनका लागि २१ वटा माग राखेका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भारत–नेपालबीचको व्यापार बिस्तारका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले नेपाल–भारतबीच हुने व्यापारिक अवरोधलाई हटाउन भारतीय महावाणिज्य दूतावास सदैव तयार रहेको बताउनुभयो ।

सम्मेलनमा इण्डिया—नेपाल सेन्टरका सचिव अतुल ठाकुरले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धबारे चर्चा भएको भन्नुहुँदै नेपाल—भारत बीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

भारतको कलकत्तामा रहेका नेपालका महावाणिज्य दूत ईश्वरराज पौडेलले नेपाल—भारत बीचको व्यापारिक सम्बन्धमा देखिँदै आएको समस्या समाधानका साथै आयात–निर्यातलाई सहज बनाउन अबलम्वन गर्न सकिने उपायका विषयमा छलफल भएको बताउनुभयो ।

उहाँले नेपालले दुई तिहाइभन्दा बढी व्यापार भारतबाटै गर्ने भएकाले यी समस्याहरूको समाधानका लागि समय अनुकूल तथा समय सापेक्ष निर्णय लिनु आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी र पिएचडिसिसिआई भारत–नेपाल केन्द्रका कार्यकारी निर्देशक कमलेश जैनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल इन्टरमोडेल बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य लगायत वीरगञ्ज भन्सार, सुख्खा बन्दरगाहका प्रतिनिधि एवम् नेपाल भारतका उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button