तपाईँ सुन्दै हुनुहुन्छः

आमसञ्चार नीति चाँडै ल्याउने तयारीमा प्रदेश सरकार लागिरहेको छ : मुख्यमन्त्री सोडारी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश आमसञ्चार नीति चाँडै ल्याउने तयारीमा सरकार लागिपरेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको चौथो साधारणको धनगढीमा आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री सोडारीले प्रदेश सरकार आमसञ्चार क्षेत्रको विकासका लागि कटिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री सोडारीले पत्रकार महासङ्घसँगको सहकार्यमा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालनमा भइरहेको बताउनुभयो । उहाँले निष्पक्ष र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।

महासङ्घका प्रदेश अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशसभा सदस्य शिवसिंह ओली, पत्रकार महासङ्घका सचिव हेमकर्ण विक, केन्द्रीय सदस्य भरत शाह लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।

साधारणमा सभामा प्रदेशका नौ वटै जिल्लाका शाखा अध्यक्ष, प्रदेश परिषद् सदस्य लगायतको सहभागिता रहेको छ ।

उद्घाटन समारोहमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न पत्रकारलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button