तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार सचिव सुवेदीद्वारा रेडियो नेपाल लुम्बिनी प्रादेशिक प्रसारण केन्द्रको निरीक्षण

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले रेडियो नेपाल लुम्बिनी प्रदेश प्रसारण केन्द्र हेमन्तपुरको निरीक्षण गर्नुभएको छ ।

समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण प्रविधि तालिम एव व्यापार प्रवर्द्धन अन्तरक्रिया कार्यक्रममा सहभागी हुन दाङ आउनुभएका सचिव सुबेदीले आज प्रसारण केन्द्रको निरीक्षण गर्नुभएको हो । 

रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका सचिव सुबेदीले प्रसारण केन्द्रको अवस्था, निर्माणाधीन भवनको समेत अवलोकन गर्नुभएको थियो । करिब दुई करोडको लागतमा प्रादेशिक प्रसारण केन्द्रको भवन निर्माण भइरहेको छ । 

निरीक्षण तथा अवलोकनका क्रममा सचिव सुबेदीले प्रादेशिक प्रसारण केन्द्रमा कार्यरत कर्मचारीलाई प्रदेशस्तरमा रेडियो नेपालको गरिमा र केन्द्रबाट प्रसारण हुने समाचार र कार्यक्रमलाई समावेशी र सबैको साझा विषयका रुपमा बिकास गर्न निर्देशन दिनुभयो । 

त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, सञ्चालक समितिका सदस्य तिलकजङ्ग बुढाथोकी, उपनिर्देशक पुष्कर बराल लगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा प्रादेशिक प्रसारण केन्द्र दाङका प्रमुख सूर्य नारायणलाल कर्णले केन्द्रको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button